व्यवसायीद्वारा कमिसन बढाउन माग ‘ग्याँसको मूल्य वृद्धि नगर’

राजधानी समाचारदाता
काठमाडौं, ४ फागुन

एलपी ग्याँस उद्योग संघले खाना पकाउने ग्याँसको बिक्रीवितरण गरेबापतको कमिसन बढाउन माग गर्दै आपूर्तिमन्त्री दीपक बोहोरालाई ज्ञापन पत्र बुझाएको छ । नेपाल एलपी ग्याँस उद्योग संघले बुधबार आपूर्तिमन्त्री दीपक बोहोरालाई ज्ञापन पत्र बुझाउँदै ग्याँसको कमिसन बढाउनुपर्ने माग सहमतिका विभिन्न १७ बुँदे माग अघि सारेको छ ।

gas

ग्याँस व्यवसायीले सबै क्षेत्रमा महँगी बढिरहेका बेला ग्याँसमा मात्रै लामो समयदेखि उही रहेको र सो नाफाले व्यवसाय गर्न कठिन भएकाले कमिसन बढाउनुपर्ने बताएका छन् । नेपाल एलपी ग्याँस उद्योग संघसँगै नेपाल ग्याँस विक्रेता महासंघ, ग्याँस विक्रेता संघलगायतले ग्याँसको बिक्रीको नाफा दोब्बर पु¥याउन माग गर्दै नाफा नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबारकै एक कार्यक्रममा नेपाल एलपी ग्याँस उद्योगका अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगी व्यवसायीको नाफा कम हुँदा व्यवसाय गर्न कठिन भएको बताउँदै नाफा बढाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी ग्याँस विक्रेता महासंघका महासचिव चन्द्र थापाले ग्याँस बिक्रीमा कमिसन अत्यन्तै कम भएको हुँदा व्यवसाय नै बन्द गर्ने स्थिति आएको बताए । ‘हाल प्रतिसिलिन्डर ग्याँस बिक्रीमा ३२ रुपैयाँ कमिसन छ । विगत लामो समयदेखि सरकारले कमिसन वृद्वि गरेको छैन, व्यवसायीले व्यवसायीको नाफा ५ प्रतिशत हुनुपर्छ,’ उनले भने ।

३२ रुपैयाँ कमिसन रहेकाले त्यसलाई बढाएर ६७ रुपैयाँ पु¥याउनुपर्ने व्यवसायीको माग छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि सन्तोष पाण्डेले ग्याँसको कारोबार उच्च भए पनि नाफा अत्यन्तै न्यून भएकाले व्यवसायी मर्कामा परेको बताउँदै कमिसन बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल आयल निगम ग्याँस वितरण विभागका निर्देशक दीपक बरालले ग्याँसको मूल्य बढाउन नसकिने बरु ग्याँस व्यवसायी, उपभोक्ता र आयल निगमलगायत सबै पक्षले चित्त बुझाउन सकिने किसिमको विषयमा छलफल गरी सोच्न सकिने बताए । उनले ग्याँस उद्योगको संख्या पनि घटाउनुपर्ने बताउँदै अनावश्यक रूपमा सिलिन्डरको संख्या पनि बढाउनुपर्ने बताए । बरालले ग्याँस व्यवसायीले उपभोक्तासँग रहेका पुरानै सिलिन्डर खरिद गरी थप सिलिन्डर थप गर्नु नपर्ने बताए ।

उपभोक्ता अधिकारकर्मीले ग्याँसको मूल्य वृद्धि गर्न नहुने दाबी गरे । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले भारतमा पनि पाँच वटा मात्रै ग्याँस उद्योगहरूले धानेको उदाहरण दिँदै नेपालमा अनावश्यक रूपमा ५५ वटा ग्याँस उद्योग रहेको र ती उद्योगहरू पनि मर्ज गर्नुपर्ने बताए । नेपाल आयल निगमले केही दिनअघि मात्र ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गर्दै यसअघि १३ सय २५ रुपैयाँ प्रतिसिलिन्डर रहेको ग्याँसको मूल्य १३ सय ५० रुपैयाँ पु¥याएको छ ।

 

Leave A Reply

Your email address will not be published.