नवौं डी सिने अवार्ड हेटौंडामा

काठमाडौं / रास– डी सिने अवार्ड यसपटक हेटौंडामा आयोजना गरिने भएको छ । विगत नौ वर्षदेखि नियमित रूपमा आयोजना गरिँदै आएको यो अवार्ड सात वर्षसम्म नियमित रूपमा काठमाडौंमा आयोजना गरिएको थियो । यसै वर्ष डी सिने अवार्डको आठौं संस्करण वर्ष पोखरामा आयोजना गरियो । नवौं संस्करणको अवार्ड अब हेटौंडामा सम्पन्न गरिने आयोजक संस्था छायाछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

d-cine-award

महोत्सव आगामी २८ वैशाखमा हेटौंडाको ओम चलचित्र मन्दिरमा आयोजना गरिने भएको छ । अवार्डलाई आयोजनाका लागि आफू र कार्यक्रम संयोजक मणिराज गौतम हेटौंडा पुगेर स्थानीय संयोजन समिति चयन गरिएको पनि शान्तिप्रियले जानकारी गराए ।

 उनका अनुसार स्थानीय संयोजकमा हेटौंडाका सुशान्त श्रेष्ठ र स्थानीय आयोजक समितिको सल्लाहकारमा निर्माता÷वितरक एवं प्रदर्शक नरेन्द्र महर्जन र पत्रकार उज्जल चौलागाईं रहेका छन् । यस्तै, सो समिति सदस्यहरूमा कपिल खड्का, श्रीराम दाहाल, सविन न्यौपाने, गणेश दर्पण अधिकारीलगायत रहेका छन् । केन्द्रीय समिति एवं स्थानीय समितिको संयोजनमा अवार्ड भव्य रूपमा सम्पन्न गर्ने स्थानिय संयोजक  श्रेष्ठले बताए ।

‘हेटौंडामा यसरी अवार्ड आयोजना गरिनु हेटौंडावासीका लागि पनि गौरवको विषय हो,’ सल्लाहकार महर्जनले भने, ‘अवार्डको सफलता हेटौंडाको प्रतिष्ठासँग गाँसिएकोले यसलाई सफल बताउन हामी सक्दो  मेहनत गर्नेछौं ।’

विभिन्न नेपाली अवार्डलाई विदेशतिर आयोजना गरिने क्रम बढेका बेला आफूले देशकै विभिन्न भागमा दर्शकमाझ नियमित रूपमा अवार्ड गर्ने अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । सोही क्रममा पोखरापछि हेटौंडामा अवार्ड गर्न लागेको पनि उनले प्रस्ट्याए ।

डी सिने अवार्डका संयोजक मणिराज गौतमले अवार्ड नियमित शृंखला भए पनि हेटौंडामा थप स्मरणीय रूपमा सम्पन्न गरिने बताए । त्यस्तै, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षले हेटौंडामा राष्ट्रिय स्तरको चलचित्र अवार्ड हुनु र अवार्डमा धेरै कलाकार हेटौंडा आउनु खुसीको कुरा हो भनेका छन् ।

अवार्डमा सहभागी हुन २०७३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरू दर्ता गर्न छायाछविले सम्बन्धित सिनेकर्मीलाई आग्रह गरेको छ । छायाछविले चैत २५ सम्म दर्ता म्याद तोकेको छ ।

Leave A Reply

Your email address will not be published.