पन्त र ऐरका कृति सार्वजनिक

राजधानी समाचारदाता
काठमाडौं, ४ फागुन

डेढ दशकदेखि अमेरिका बस्दै आएका गीतकार एवं कवि महेश्वर पन्तले आफूलाई कथाकारका रूपमा प्रस्तुत गरेका छन् । आफूले लेखेको कथाहरूको सँगालो पुस्तक ‘मुन्द्री’ राजधानीमा एक समारोहबीच बुधबार सार्वजनिक गर्दै उनले आफूलाई कथाकारका रूपमा उभ्याएका हुन् ।

16780133_1461003807244214_747442587_n

कथाकार माया ठकुरी, समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, अर्थशास्त्री प्रा.डा. पार्थिवेश्वर तिमिल्सिन, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल (अनेसास) को नेपाल च्याप्टर अध्यक्ष राधेश्याम लेकाली र लेखक पन्त स्वयंले बुधबार राजधानीमा मुन्द्रीको विमोचन गरेका हुन् । सोही कार्यक्रममा यी स्रष्टाहरूले कवि लालबहादुर ऐर ‘एलबी’ को कवितासंग्रह ‘हतकडीमा देश’ को पनि विमोचन गरे । कार्यक्रममा बोल्दै डा. लुइँटेलले विदेशमा रहेका नेपालीहरूले आफ्नो चर्चा जोगाउन घर आउँदा किताब विमोचन गरेर फेरि फर्केपछि गुमनाम हुने गरेको टिप्पणी गरे । तर, महेश्वर पन्तले नेपाली समाजका यथार्थलाई कथामा उन्दै तीन वर्षअघिदेखि तयार गरेर मुन्द्री निकालेको बताए । विदेश बसेर पनि नेपालकै भोगाइ र यहाँका समस्यालाई कथामा बुनेर मौलिक कथासंग्रह निकाल्न सकिन्छ भन्ने कथाकार पन्तले मुन्द्रीमार्फत प्रस्ट्याउन सकेको भनाइ डा. लुइँटेलले व्यक्त गरे ।

अमेरिकाको बोस्टरनमा रहेका साथीहरूलाई संगठित गरेर नियमित साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्दै आएका पन्त साहित्यसँगै गीत–गजल लेखनमा पनि सक्रिय रहेको उनले बताए । यस्तै बोस्टनमै रहँदै आएका कवि लालबहादुर ऐरको कवितासंग्रह हतकडीमा देशभित्र यो देशको अवस्थाबारे गम्भीर रूपमा चिन्ता व्यक्त गरिएको डा. लुइँटेलले प्रकाश पारे ।

कथाकार माया ठकुरीले मुन्द्रीभित्रको कथाले कथाकार पन्त देशप्रेम र राष्ट्रभावले ओतप्रोत रहेको देखिने बताइन् । ऐरका कवितामा पनि राष्ट्रिय चिन्तन रहेको भनाइ उनले राखिन् ।अनेसास नेपाल च्याप्टरका अध्यक्ष लेकालीले पन्त र ऐर दुवैका सिर्जना राम्रा रहेकाले अनेसासले प्रकाशन गरेको जानकारी गराए ।प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले आफ्ना बाजे कालीभक्त पन्त नेपालका विद्वान् लेखक रहेको र बाजेका पथ रोज्दै महेश्वर पन्तले राम्रा कथा सिर्जना गरेर संग्रहका रूपमा ल्याएको बताए ।

कथाकार पन्तले आफू र ऐर दुवै बोस्टनमा रहने भएकाले सल्लाह गरेर एकसाथ पुस्तक सार्वजनिक गरेको प्रस्ट्याए । रहर नभएर बाध्यताले विदेश बसे पनि आफूहरूमा देशको माया अथाह रहेको र त्यही मायाले कथा, गीत, कविता सिर्जना गर्दै आएको पन्तले बताए । पछिल्लो दुई दशकयताको नेपाली समाजको अवस्थालाई कथामार्फत मुन्द्रीमा समेटेर ल्याएको उनले जानकारी गराए ।  पन्तका अनुसार मुन्द्रीमा १५ ओटा लामा छोटा कथा र हतकडीमा देशभित्र ३८वटा कविता संगृहीत छन् । यी दुवै पुस्तक नेपालका मुख्य पुस्तक पसलमा किन्न पाइने पनि उनले जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.