वैशाखमा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

राजधानी समाचारदाता
काठमाडौं, ४ फागुन

 राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो स्थापनाको २०औं वर्षको अवसरमा आगामी १३ वैशाखमा काठमाडौंमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७३’ आयोजना गर्ने भएको छ । हरेक वर्षको वैशाख १३ मा मनाइने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर सो दिन अवार्ड गर्न लागेको एनएफपीजेले जनाएको छ । फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरूलाई अवार्ड कार्यक्रममा विभिन्न विधाबाट सम्मानित गरिने भएको छ ।

photo-compition

फोटो स्टुडियो फोटो कन्र्सन र एनएफपीजेबीच सो अवार्डका लागि राजधानीमा एक कार्यक्रममा सम्झौता भएको पनि एनएफपीजेले जनाएको छ । अवार्ड कार्यक्रमा ५० हजार रुपैयाँसहित ‘डीबी थापा फोटो पत्रकारिता लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने अवार्ड कार्यक्रमका संयोजक तथा एनएफपीजेका सचिव प्रदीपराज वन्तले जानकारी गराएका छन् ।

सो कार्यक्रममा वर्षको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड, टुरिजम एन्ड कल्चरल फोटो पत्रकारिता अवार्ड, स्पोर्ट्स फोटो पत्रकारिता अवार्ड, डेली लाइफ फोटो पत्रकारिता अवार्ड, एड्भेन्चर फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड प्रदान गरिने भएको छ ।

यस्तै, राजनीतिक फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाइन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड र आर्थिक फोटो पत्रकारिता अवार्डबाट एक÷एकजना फोटो पत्रकारलाई प्रदान गरिने पनि वन्तले बताए । यस्तै, सबै विधामा फोटो पत्रकारलाई जनही २५ हजार रुपैयाँ र ट्रफी, प्रमाणपत्र प्रदान गरिने भएको छ ।

सो अवार्डका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाइनलगायतका सञ्चारमाध्यममा सक्रिय फोटो पत्रकारहरूले ९ देखि ३० फागुनसम्म प्रतियोगि तस्बिरसहित सहभागिताको फाराम भर्नुपर्ने पनि एनफएपीजेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.