इजरायल–प्यालेस्टाइन नीतिमा राष्ट्रसंघले किन दियो ट्रम्पलाई चेतावनी ?

trump

न्युयोर्क/एजेन्सी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल प्यालेस्टाइनबीचको संघर्ष अन्त्यका लागि अपनाउँदै आएको दुई राष्ट्र नीति परित्याग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको चर्को आलोचना गरेका छन् । उनले मध्यपूर्वको समस्या समाधानका लागि यसको कुनै विकल्प नरहेको समेत जनाएका छन् ।

अमेरिकाले दशकौंदेखि अपनाउँदै आएको नीतिका विरुद्धमा राष्ट्रपति ट्रम्प गएपछि राष्ट्रसंघको यस्तो चेतावनी आएको हो । प्यालेस्टाइनले अमेरिका दुई राष्ट्र नीतिको विरुद्धमा गए मध्यपूर्वको शान्तिमा अवरोध खडा हुने स्पष्ट पारिसकेको छ । ट्रम्पले इजरायल–प्यालेस्टाइन संघर्ष समाधानका लागि दशकौंदेखि कायम दुई राष्ट्र समाधान नीति परित्याग गरेको घोषणा गरेका थिए ।

ह्वाइटहाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता गराउने प्रतिबद्धता जनाए । तर, यसका लागि दुवै पक्षले मन मार्नुपर्ने उनको भनाइ थियो । इजरायल र प्यालेस्टाइनबीच सन् २०१४ देखि शान्ति वार्ता हुन सकेको छैन ।

सम्मेलनमा ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई विवादित क्षेत्रमा बस्ती निर्माणको कार्य रोक्न आग्रह गरेका छन् । गत महिना ट्रम्प राष्ट्रपति भएपछि इजरायलले प्यालेस्टाइनको पश्चिम किनारा र पूर्वी जेरुसेलममा हजारौं घर बनाउन स्वीकृति दिएको थियो ।

इजरायल र प्यालेस्टाइनबीच दशकौंदेखि जारी संघर्ष समाधानका लागि दुवै पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष्य बनाउँदै आएका छन् । सोहीअनुसार पश्चिम किनारा, गाजापट्टि र पूर्वी जेरुसेलममा सन् १९६७ को युद्धविराम रेखाअघिको क्षेत्रमा एक स्वतन्त्र प्यालेस्टाइन राष्ट्रको निर्माण गर्ने र दुवै राष्ट्रले शान्तिको वातावरण बनाउने उल्लेख छ ।

यसमा संयुक्त राष्ट्रसंघ, अरब लिग, युरोपियन युनियन, रूस र अमेरिकाले आफ्नो प्रतिबद्धता दोहो¥याउँदै आएका छन् । यद्यपि, अहिले आएर अमेरिकाले यसबाट पछि हट्ने संकेत गरेपछि राष्ट्रसंघले नै ट्रम्प प्रशासनलाई खबरदारी गरेको हो ।

दुई राष्ट्र सिद्धान्तबाट पछि हट्नुको अर्थ रिपब्लिकन र डेमोक्रेटिक पार्टीले अपनाउँदै आएको नीतिबाट पछि हट्नु हो । अमेरिकी नीतिबारे खबर सार्वजनिक भएसँगै प्यालेस्टाइन सतर्क हुँदै स्वतन्त्र प्यालेस्टाइनको लक्ष्यबाट पछि नहट्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनकी वरिष्ठ सदस्य हनान अशरावीले ट्रम्प प्रशासनले यस नीतिलाई खारेज गरेमा शान्तिको सम्भावना कमजोर बन्ने र विदेशमा अमेरिकी नीति र उसको हित प्रभावित हुने चेतावनी दिएकी छन् । ओबामा प्रशासन इजरायलसँग अनुदार रहँदै आए पनि ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि इजरायल त्यसबाट फाइदा उठाने सोचबाट अघि बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.