उत्तर कोरियाली नेता किम जोङ उनका दाजुको हत्यामा प्रेमी प्रेमिका संलग्न

kim-jong-nam

क्वालालम्पुर/एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न भएको आशंकामा थप दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक इन्डोनेशियन महिला र उनका मलेसियन ब्वाईफ्रेन्ड रहेको प्रहरीले जनाएको छ ।

यसअघि नै भियतनामी पासपोर्ट भएकी एक महिलालाई हत्यामा संलग्न भएको आंशकामा पक्राउ गरिएको थियो । क्वालालम्पुरस्थित विमानस्थलमा मकाउ जाने विमान पर्खिरहेको अवस्थामा दुई महिलाले बिषालु पदार्थले आक्रमण गर्दा किमको मृत्यु भएको थियो ।

सोमबार निधन भएका किमको पोस्टमार्टम बिहीबार नै सकिएपनि त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन । आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई महिलालाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।

विमानस्थलको सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले मंगलबार किम चोल नाम गरेको पासपोर्टसहित यात्राका क्रममा रहेको किम जोङ नामको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए ।

किमको हत्याका पछि उत्तर कोरियाली एजेन्टहरूको संलग्नता रहेको आशंका गरिएपनि त्यसबारेमा पुष्टि हुन सकेको छैन । उत्तर कोरियाले बिहीबार नै किम जोङ नाम र वर्तमान नेता किम जोङ उनका बाबु किम जोङ इलको ७५ औं जन्मोत्सव मनाएको छ । बुधबारमात्रै उत्तर कोरियाली नेता किम जोङ उन उत्तरकोरियाको वर्कर्स पार्टीको बैठकमा सामेल भएको देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.