राप्रपा एकता महाधिवेशन आजदेखि

राजधानी समाचारदाता
काठमाडौं, ५ फागुन

राप्रपा नेपाल–राप्रपा एकतापछिको महाधिवेशन राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु हुँदै छ । राजसंस्थासहितको लोकतन्त्र स्थापनाको पक्षमा उभि“दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा ‘राजसंस्था परिवर्तनका पक्षधरलाई पनि चित्त बुझ्ने, संविधानअन्तर्गत र संसद् परिधिभित्र रहने राजसंस्था हुनुपर्छ’ भन्ने बहससमेत थालनी भएको छ ।

महाधिवेशनअघि नै अध्यक्षमा सर्वसम्मत कमल थापाले बिहीबार विशालनगरस्थित निजी निवासमा पत्रकारसँग ‘परिर्वतनका पक्षधर राजनीतिक दलसँग सहमति गरेर अघि बढ्ने र आवश्यक परे जनमत संग्रहबाट राजसंस्थासहितको लोकतन्त्र स्थापना विषयमा अघि बढ्न सकिने मान्यताबाट पार्टी अघि बढ्ने’ बताए ।

_dwk4646

एकता अधिवेशनको दुई दिनअघि बुधबार साँझ राप्रपा शीर्षनेताबीच थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको हो । सहमतिपत्रमा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले हस्ताक्षर गरेका छन् ।

महाधिवेशनमा देशभरबाट ३ हजार ३ सय १५ प्रतिनिधि सहभागी हुँदै छन् । जसमा मुलभुत रूपमा विधान संशोधन, राजनीतिक र आर्थिक कार्यपत्र विषयमा छलफल हुने राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार  वर्तमान राजनीतिक गतिरोध अन्त्य, राप्रपाको भूमिका तथा अन्य दलसँगको सम्बन्धबारे समेत महाधिवेशनमा छलफल हुनेछ । मुलुकलाई आर्थिक समृद्धिमा अघि बढाउने दिशामा समेत राप्रपाले आधिकारिक धारणा तय गर्ने जनाइएको छ । देशको आर्थिक अवस्था र त्यस अवस्थाबाट माथि उठ्न अपनाइने रणनीतिबारे पनि छलफल हुनेछ ।

थापा सर्वसम्मत भएसँगै अब महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुने भएको छ । राप्रपामा अध्यक्षसहित २४ पदाधिकारी रहने व्यवस्था छ । कार्यसमितिमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ता रहनेछन् । तर, अध्यक्षबाहेक अन्य मनोनीत हुने व्यवस्था छ । सदस्य ६० प्रतिशत निर्वाचित र ४० प्रतिशत मनोनीत हुनेछन् । त्यसमध्येबाट पदाधिकारी छनोट हुने व्यवस्था छ । राप्रपामा १ सय ६१ जनाको कार्यसमिति रहनेछ ।

प्रवक्ता श्रेष्ठले सबै सदस्यमा पनि सकेसम्म सर्वसम्मतको प्रयास भइरहेको जानकारी दिए । ‘यो एकताको महाधिवेशन हो,’ उनले भने, ‘त्यसैले सकेसम्म सबै पदमा सहमतिकै प्रयास हुनेछ ।’नेताबीच पार्टी विधानमा नीति निर्धारण तथा निर्देशन समिति गठन व्यवस्था गर्ने सहमति पनि भएको छ । यसमा राणा, चन्द, लोहनीसहितका वरिष्ठ नेता रहनेछन् । महाधिवेशन क्रममा सहभागी प्रतिनिधिले आफ्ना विचारसमेत नेतृतवसमक्ष राख्न पाउनेछन् ।

 

Leave A Reply

Your email address will not be published.