हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपियन आयोगसँग आग्रह

राजधानी समाचारदाता

काठमाडौं, ५ फागुन

सरकारले नेपाली हवाई सेवा कम्पनीमाथि लगाएको प्रतिवेदन हटाउन युरोपियन आयोगसँग आग्रह गरेको छ । युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. महतले युरोपियन आयोगका नेताहरूसँग नेपालमाथि लागेको हवाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युरोपियन आयोगका अध्यक्ष जिन क्लाउड जुकरस“ग र युनियनकी विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग छुट्टै भेद गरी आग्रह गरेका हुन् ।

hon

नेपाली उड्डयन कम्पनीहरूलाई युरोपियन आयोगले सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । यसकारण नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक कम्पनीले युरोप उडान गर्ने अनुमति पाउन सकेको छैन ।

परराष्ट्रमन्त्री महतले नेपाली उड्डयन क्षेत्रले पछिल्लो समय उल्लेख्य प्रगति गर्दै गएको र मापदण्ड पूरा गरेको भन्दै प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका हुन् ।

भेटमा आयोगका अध्यक्ष जुकरसँगले तथ्यलाई अध्ययन गरी आवश्यक प्रक्रिया चाल्ने बताएको ब्रसेल्सस्थित युरोपियन युनियनका लागि नेपाल मिसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, ईयूकी विदेश तथा सुरक्षानीति सम्बन्ध उच्च प्रतिनिधि मोगरिनीले नेपालमाथि लागेको कालोसूचीको पुनरावलोकन गरिने प्रतिबद्धता जनाएकी छन् । उनले आवश्यक प्रक्रिया अपनाएर मापदण्डको अध्ययन गरी आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरको परराष्ट्रमन्त्री महतको निजी सचिवालयले जनाएको छ ।

युरोपियन युनियन एभिएसन सेक्युरिटी काउन्सिलले नेपाली उडानलाई असुरक्षित भन्दै सन् २०१३ देखि लगातार कालोसूचीमा राख्दै आएपछि नेपालको एक मात्र वायुसेवा निगमले युरोप उडान गर्ने सपना पूरा गर्न पाएको छैन ।

काउन्सिलले हवाई सुरक्षा, दुर्घटनापछिको उद्धारलगायत क्षेत्रको अध्ययनपछि उसले यो सूची प्रकाशित गर्दै आएको छ । पछिल्लो समयमा नेपालले एसिया प्यासिफिक क्षेत्रको मापदण्डअनुसार ५९ अंक प्राप्त गर्नुपर्ने हुन्छ । नेपालले अहिले ५८ दशमलव ४ अंक प्राप्त गरेको छ ।

नेपाल १० मध्ये पर्सनल लाइसेन्सेन्सिङ, फाइट रेस्क्यु कमिटी, रेगुलेटरी बडीलगायत चार विधामा असफल हुँदै आएको छ । युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन (ईयू) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको छ । आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका विमानमा यात्रा नगर्नसमेत आग्रह गरेको छ ।

ईयूले नेपाल एयरलाइन्ससहित १८ वटा विमान कम्पनीहरूमा लगाएको प्रतिबन्ध कायमै राखेको छ । नेपालमा आन्तरिक उडान गरिरहेका एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकोप्टर्स, मुक्तिनाथ एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स ईयूको कालोसूचीमा रहेका छन् ।

नेपालमा दक्षिण एसिया र चीनपछि युरोपबाट नेपालमा बढी पर्यटक आउँछन् । युरोपियन आयोगले आफ्ना देशका नागरिकलाई नेपालका वायुसेवामा सवार नहुनसमेत सूचना जारी गरेपछि यसको असर नेपाली पर्यटन क्षेत्र र वायुसेवामा पनि पर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.