सामुदायिक विद्यालयमा सीसीटिभी

गणेश गिरी / राजधानी
पर्वत, ५ फागुन

आर्थर गाउँ विकास समितिस्थित पञ्चकोसी उच्चमाध्यमिक विद्यालयका कक्षाकोठाहरूमा सीसीटिभी क्यामरा जडान गरिएको छ । शैक्षिक गुणस्तर बढाउन र विद्यार्थीहरूमा अनुशासन कायम गर्न विद्यालयले सबै कक्षाकोठा, प्रयोगशाला र कार्यालयमा समेत गरी १६ वटा सीसीटिभी क्यामरा जडान गरेको हो ।

स्थानीय व्यक्तिहरूको सहयोगमा झन्डै १ लाख ४५ हजार रुपैयाँको लागतमा विद्यालयमा सीसीटिभी क्यामरा जडान गरिएको विद्यालयका प्राचार्य अर्जुन पौडेलले जानकारी दिए ।

विद्यालयका कक्षाकोठामा रहेका शिक्षक र विद्यार्थी दुवैलाई अध्ययन, अध्यापनमा थप जिम्मेवार बनाउन क्यामरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताए । क्यामराले अध्ययनमा केही नकारात्मक असरहरू गर्न सक्ने भए पनि समग्रमा अध्ययन र अध्यापन कार्यमा विद्यार्थी र शिक्षकलाई संवेदनशील बनाउन पनि सो प्रविधि प्रयोगमा ल्याइएको अध्यक्ष शर्माले बताए । विद्यार्थीहरूमा अनुशासनहीनता बढ्दै गएमा सो प्रविधिको माध्यमबाट नियन्त्रण गर्न विश्वास उनले गरेका छन् ।

समयमा शिक्षकहरू कक्षाकोठामा नजाने, विद्यार्थीहरू होहल्ला गर्दै बस्ने गरेका कारण विद्यालयमा शैक्षिक गुणस्तर क्रमशः घट्न थालेको गुनासो आएपछि विद्यालय प्रशासनले सीसीटिभी क्यामरा व्यवस्थापन गरेको हो, प्राचार्य पौडेलले बताए । सो प्रविधि जडानका लागि स्थानीय रमेश गौतमले ७५ हजार, रुद्रमोहन रिमालले ३५ हजार र लेखनाथ रिमालले ३५ हजार रुपैयाँ नगद सहयोग गरेका थिए ।

प्रविधिको प्रयोगले ग्रामीण भेगमा रहेको सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने र गुणस्तरीय सेवा प्रवाहमा विद्यालयले अग्रणी भूमिका खेल्ने विश्वास रहेको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए ।

३ सय ५० विद्यार्थी संख्या रहेको सो विद्यालयमा आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन सुरु गर्ने तयारी विद्यालयले गरेको छ । अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय खोज्दै विद्यार्थीहरू बाहिरिन थालेपछि गाउँका विद्यार्थी गाउँमै रोक्न अंग्रेजी माध्यमबाट पठनपाठन गर्न बाध्य भएको प्राचार्य पौडेलले बताए । सो कार्यका लागि विद्यालयका पूर्वविद्यार्थीहरूले झन्डै १ करोेडबराबरको कोष स्थापना गर्ने गरी सहयोग रकम संकलन गर्ने अभियान सञ्चालन गरिरहेका छन् । सो प्रविधिको शुभारम्भ बिहीबार एक कार्यक्रमबीच स्थानीय विकास अधिकारी युवराज पौडेलले गरे ।

 

Leave A Reply

Your email address will not be published.