पूर्वराजा ज्ञानेन्द्र सिमरामा

सिमरा (बारा) / रास– निजी भ्रमणमा सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार सिमरा विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । पूर्वरानी कोमल राज्यलक्ष्मी देवीको जन्मोत्सवको पूर्वसन्ध्यामा तराई भ्रमणमा आएका ज्ञानेन्द्रलाई सिमरामा राष्ट्रिय झन्डा बोकेर भेला भएका उनका शुभचिन्तकले फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।

बुद्ध एयरको विमानबाट बिहीबार सिमरा विमानस्थलमा अपराह्न २ बजे आइपुगेका ज्ञानेन्द्र र कोमललाई स्वागतका लागि भेला भएका शुभचिन्तकहरूले केहीबेर सिमरामा ¥यालीसमेत निकालेका थिए । सो ¥यालीमा मुस्लिम समुदायका सर्मथकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

पूर्वराजाको स्वागतका लागि बारा, पर्सा, मकवानपुरलगायत स्थानहरूबाट ठूलो संख्यामा आएका शुभचिन्तकहरूको भीड सम्हाल्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो । फूलमाला र पुष्पगुच्छा लिएर स्वागतार्थ बसेका उनका शुभचिन्तकको भीडका कारण एयरपोर्ट रोडसहित पथलैया वीरगन्जको मुख्य सडक खण्ड आधा घण्टा बढी अस्तव्यस्त बनेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमलका साथ सिमरास्थित प्रभु निवासमा रहने र शुक्रबार (आज) चितवनको यात्रामा निस्कने स्रोतले बताएको छ । ७ फागुनमा परेको कोमलको ६७औं जन्मोत्सव चितवनमा मनाउने तयारी रहेको समेत स्रोतले जनायो ।

 

Leave A Reply

Your email address will not be published.