३ वर्षपछि पाइपलाइन विस्तार

कमल शर्मा / राजधानी
दैलेख, ५ फागुन

सम्झौता सकिएको ती वर्षपछि साहारे खानेपानी आयोजनाले सदरमुकाममा पाइपलाइन विस्तार गर्न लागेको छ । ०७० असारबाट सुरु गरिएको सो योजना निर्माणको जिम्मा लिएका ठेकेदारले ढिलासुस्तीले गर्दा सम्झौता सकिएको तीन वर्षपछि मात्र पाइपलाइन विस्तार हुन लागेको हो ।

sahara-khanpani

चार वर्षदेखि निर्माण हुन थालेको खानेपानी आयोजनाको म्याद पटक–पटक थप्दै आएको र हाल मात्र सदरमुकाम क्षेत्रमा भने पाइपलाइन विस्तार हुन लागेको छ । नारायण नगरपालिकासहित खरिगैरा, भवानी र रानीवन गाविसका १ हजार ८ सय ३ घरधुरीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले सुरु गरिएको सो आयोजनाको काम सुस्त गतिमा हुँदा सदरमुकामवासीले आयोजना पूरा हुनेमा आशंका गर्न थालेका थिए ।

योजना निर्माणका लागि जिल्ला विकास समिति, नारायण नगरपालिकाले नगर विकास कोष (काठमाडौं) बाट ८ करोड ४३ लाख अनुदान ऋण फिर्ता गर्ने भन्दै जमानी बसेर स्थानीय नागरिकहरूले प्रतिधाराबापत ५ हजारदेखि १५ हजारसम्म रकम संकलन गरी जनश्रमदानमार्फत १ करोड ३० लाख रकम योजना निर्माणका लागि बुझाएका थिए । स्थानीयले सो आयोजनाप्रति चासो राखे पनि ठेकेदारको लापर्बाहीका कारण खानेपानी आयोजनाको काम पूरा हुन सकेको छैन ।

आयोजनाको काममा ढिलाइ भएको भन्दै व्यवस्थापिका संसद् सुशासन समितिका सदस्य सांसद अमरबहादुर थापा तथा क्षेत्रीय निर्देशकलगायतले स्थलगत अनुमगन र निरीक्षणसँगै तत्काल काम सम्पन्न गर्न निर्देशन दिएपश्चात् ठेकेदार कम्पनीले काममा तीव्रता दिन थालेको हो ।

समयमै खानेपानी आयोजनाको काम सम्पन्न नहुनाले अहिले सदरमुकाम दैलेख बजारमा पानीको हाहाकार हुन थालेको सामाजिक अगुवा यमराज थापाले बताए । विगतमा दुईपटक म्याद थप भएको र अन्तिमपटकका लागि कम्पनीले म्याद थपको निवेदन माग गरेको निर्माण कम्पनीले जनाएको छ । महावु सडकमा पाइप गाड्ने काममा केही ढिला भएको र मुहानमा अवरोध भएकाले पनि आयोजनाको काममा समस्या भएकाले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत कामको रेखदेख र रकम निकासा गरिएको छ । हालसम्म सो आयोजनामा १८ करोड बढी रकम खर्च भइसकेको छ । योजना जिम्मा लिएको कम्पनीको कमजोरी र स्थानीय बासिन्दाहरूले समेत पटक–पटक अवरोध गरेका कारण आयोजना निर्माणमा ढिलाइ भएको खानेपानी कार्यालय दैलेखका इन्जिनियर राजीव रिमालले बताए ।

पानीको मुहानमा अम्लीयपन धेरै भएपछि निर्माण कम्पनीले नगरपालिकास्थित इँटमा पानी शुद्धीकरण गरी सदरमुकाम ल्याउने तयारी भएको खानेपानी उपभोक्ता समतिका अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.