राप्रपासँगका अपेक्षा

rajdhani_logo_header-300x80

राप्रपासँगका अपेक्षा

दुई पार्टी एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनमा होमिएको छ । पहिलो संविधानसभा आसपासबाट सुरु भएको दलीय फुटको राजनीतिमा मुछिँदै विभिन्न टुक्रामा विभाजन हुनुको पीडाबाट राप्रपा अछुतो छैन । एउटै उद्देश्य र नीतिबीच नेतृत्व र तत्कालीन राजनीतिक परिस्थितिजन्य घटनाचक्रको असहमतिले टुक्रिएको राप्रपा अन्ततः यतिबेला एकजस्तो भएको छ । क्षणिक र झिना असन्तुष्टिबाहेक राप्रपा अब भावनात्मक एकताको बाटोमा हिँडेको छ । एकीकरणपछिको यो पहिलो महाधिवेशनमा अब नीतिगत मतभिन्नता नछचल्किए राप्रपा महाधिवेशनले राष्ट्रिय राजनीतिमा महŒवपूर्ण अर्थ
पनि राख्नेछ ।

राप्रपा राजनीतिमा कमल थापा (व्यक्ति र प्रवृत्ति) को उदयको अर्थ राप्रपा धर्म निरपेक्षता र संवैधानिक राजतन्त्रको पक्षमा सशक्त बन्दै गएको बुझ्न सकिन्छ । गणतन्त्र घोषणापछि आजसम्म थापा एक्लैले बोकेको एजेन्डा सामूहिक बनेको छ । सहमतिका साथ नेतृत्वमा स्थापित हुनुलाई उनका एजेन्डा संस्थागत (दलीय रूपमा) भएको अर्थमा बुझ्नुपर्छ । महाधिवेशन सुरु नहँुदै सर्वसम्मत नेतृत्व (अध्यक्ष) चयन गरेर सुरुमै राप्रपाले पदीय बहसमा केन्द्रित हुने थलो (दलहरूका विगतका महाधिवेशनको अभ्यासका आधारमा) लाई नीतिगत र सैद्धान्तिक बहसको थलो बनाउने संकेत दियो । यो लोकतन्त्रवादी भनिने दलहरूका लागि उदाहरण त बन्ने नै छ । साथसाथै महाधिवेशन केवल नेतृत्व स्थापित गर्नेमै मात्र केन्द्रित हुने होइन कि भावी सिद्धान्त र नीति बनाउने र विगतका कमीकमजोरी सच्याउने निकाय पनि हो भन्ने सन्देश राप्रपाले दिन खोजेको छ । यस अर्थमा उसले समसामयिक दलहरूलाई सहिष्णुता, त्याग र सर्वसहमतीय राजनीतिको पाठ पनि सिकाइदिएको छ ।

महाधिवेशन सुरु भइहेको सन्र्दभमा राप्रपासँग अब केही दम्भ र भ्रम भने हट्न जरुरी देखिन्छ । जनआन्दोलन, विभिन्न कालखण्डका आन्दोलनलगायतले विस्थापन गरेको राजतन्त्रलाई पुरानै रूपमा या अन्य कुनै स्वरूपमा बोक्ने संकेत महाधिवेशनअगावै देखिएकै छ । उसैगरी, धर्मनिरपेक्षताजस्ता विषय पनि आउन सक्छन् । ९० प्रतिशत हाराहारी जनताले संविधानसभामार्फत निर्माण गरेको संविधानले दुवै एजेन्डालाई अस्वीकार गरेको तथ्यलाई राप्रपाले नजरअन्दाज गर्नुहँुदैन । हो, दुवै विषय समाजमा अनन्त कालसम्म बहसको विषय बन्ला । तर, परिवर्तित अवस्थामा ती एजेन्डालाई हुबहु बोकेर हिँडे राप्रपाले परिवर्तनलाई अस्वीकार गरेको ठहरिनेछ । त्यतिबेला उसको चरित्रमा प्रश्न उठ्छ । किनकि, अन्तरिम संविधानपछिका नौ वर्ष र संविधान बनेको एकवर्षसम्म उसले संविधानतः अस्वीकृत यी दुई एजेन्डा स्वीकार गरी सत्ताको समेत पटक–पटक स्वाद लिइसकेको छ । यस अर्थमा ऊ यो एजेन्डामा खरो उत्रन सक्ने अवस्थामा छैन । संविधान निर्माणताका यी दुई एजेन्डामा आएको जनमत दलहरूप्रतिको तत्कालीन आक्रोश थियो । यसलाई निष्कर्ष मानेर राप्रपाअघि बढे लक्ष्यमा पुग्न सक्दैन । कम्तीमा राजतन्त्र र धर्मलाई हेर्ने दृष्टिकोणमा राप्रपाले अब स्पष्ट धार समाउनुपर्नेछ । र, यो धार पश्चगमनको बाटोमा हुनुहुँदैन । सबै राजनीतिक परिवर्तनपछि विभिन्न आयाममा उसले संस्थागत र नीतिगत स्वरूप फेर्दै आएको विगतबाट सिक्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी त्यसभित्रबाटै थप उपलब्धि हासिल गर्ने मुलुक सुहाउँदो गणतन्त्रको पक्षमा पार्टीलाई अघि बढाउने दिशामा महाधिवेशन केन्द्रित होस्, शुभकामना †

Leave A Reply

Your email address will not be published.