कृषि नै आत्मनिर्भरताको जग

कृषि नै आत्मनिर्भरताको जग

suman-kumar-nepal

सुमनकुमार नेपाल

तरलता अभाव वर्तमान समयमा हामीकहाँ भएको आर्थिक क्षेत्रको चर्चित विषय मान्दा फरक पर्दैन । त्यस्तै, सरकारी ढुकुटीमा रकम जम्मा हुनु र विकास बजेट खर्च नहुनु तरलता समस्या सँगसँगै आएका समस्या हुन् । यस्तो समस्या समयसमयमा उत्पन्न भइरहन्छ र यसले सामान्यतया ब्याजदरमा वृद्धि गराउँछ । यस्तो किन  भयो ? यसबारे विभिन्न सञ्चार माध्यमहरूमा प्रशस्त कुराहरू आएका छन् । यसर्थ थप कुरा गर्न आवश्यक छैन । परिणामको कुरा गर्दा बैकसँग पैसा नहुँदा लगानीमा समस्या आउँछ अर्थात् बैंकहरूले ऋण माग गर्नेलाई ऋण दिन सक्दैनन् । फलतः लगानी हुन सक्दैन र लगानी नहुँदा उत्पादनमा प्रभाव पर्न जान्छ । हाम्रो व्यापार हेर्दा निर्यातभन्दा आयात ज्यादै धेरै छ । यो अवस्थामा व्यापार घाटा अझ बढ्न सक्दछ ।
उत्पादनशील क्षेत्रमा बैंकहरूले लगानी गर्र्र्र्र्नैपर्ने निर्देशन नेपाल राष्ट्र बैंकले केही वर्ष अगाडिको मौद्रिक नीतिमार्फत गरेको हो । यद्यपि, हालका दिनसम्म पनि उत्पादनशील क्षेत्रमा प्रशस्त मात्रामा लगानी हुन नसकेको समाचार बाहिर आएको छ । यसर्थ, कृषि क्षेत्रमा लगानी वृद्धिका लागि थप सुविधाहरूको आवश्यकता देखिन्छ । सरकारले समयमै उत्पादनशील क्षेत्रका लागि आकर्षक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ, जसबाट हाम्रो उत्पादनशील क्षेत्रमा प्रशस्त लगानी
हुन सकोस् ।

कृषि क्षेत्रमा लगानी वृद्धिका लागि थप सुविधाहरूको आवश्यकता देखिन्छ । सरकारले समयमै उत्पादनशील क्षेत्रका लागि आकर्षक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ, जसबाट हाम्रो उत्पादनशील क्षेत्रमा प्रशस्त लगानी हुन सकोस्

‘नेपालको कृषि क्षेत्रको उत्पादन वृद्धिमा मौसमी अवस्थाको प्रमुख भूमिका रहँदै आएको सन्दर्भमा यस वर्ष मनसुन अनुकूल रहेकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसका साथै, बालीनालीमा उल्लेख्य महामारी रोग÷कीराको प्रकोप नदेखिएको एवं रासायनिक मल तथा किटनासक औषधिको उपलब्धता पनि सामान्य रहेकाले कृषि क्षेत्रमा यसको समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।’
उपरोक्त कुरा नेपाल राष्ट्र बैंकबाट प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति (आर्थिक वर्ष २०७३÷०७४ को पहिलो महिनाको तथ्यांकमा आधारित) मा उल्लेख गरिएको छ । मुलुकको केन्द्रीय बैंकको यस भनाइको आधारमा हाम्रो कृषि उत्पादनमा मौसमको के कस्तो भूमिका छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यसो त हालका दिनमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो र अन्य क्षेत्रको योगदान बढ्दो क्रममा रहेको छ । यद्यपि, हालका दिनसम्म पनि नेपालको आर्थिक वृद्धि कृषिमा भर परेको कुरा नकार्न सकिँदैन । यसका साथै यस प्रसंगमा यहाँनिर के पनि भन्न सकिन्छ भने हाम्रो कृषि मौसममा भर परेको छ । मौसम अनुकूल रहन गयो भने उत्पादन बढ्ने र प्रतिकूल रहन गयो भने कृषि उत्पादन घट्ने हुन्छ, जसको प्रत्यक्ष प्रभाव आर्थिक वृद्धिमा पर्ने गर्दछ अर्थात् धान, मकै र गहुँजस्ता खाद्यान्नको उत्पादनले आर्थिक वृद्धि दरलाई तलमाथि बनाउने गर्दछ । यस आधारमा नेपालको आर्थिक वृद्धि मौसममा भरपरेको मान्न सकिन्छ । तर, अन्य विकसित देशको कृषि उत्पादन सामान्यतया प्रविधिमा भर परेको पाइन्छ । हामीले अहिलेसम्म हाम्रो कृषिलाई सो स्थानमा पु¥याउन सकेका छैनौं ।

मुलुकका लागि कृषिको महŒव र भूमिकालाई औंल्याउनु पर्दा के पनि भन्न सकिन्छ । हाम्रो कुल गार्हस्थ्य उत्पादनको झन्डै एक तिहाइ हिस्सा कृषि क्षेत्रले ओगटेको छ र झन्डै दुई तिहाइ जनसंख्या कृषि क्षेत्रमा आश्रित रहेका छन् । विगत दुई वर्षको तथ्यांकको आधारमा यसको सम्बन्धमा थप के भन्न सकिन्छ भने आर्थिक वर्ष २०७१÷७२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव १२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७२÷७३ मा ३१ दशमलव ६९ प्रतिशत (आर्थिक सर्वेक्षण आव २०७२÷७३) पुग्ने अनुमान गरिएको छ । यसरी, कुल गार्हस्थ्य र रोजगारीका दृष्टिले हाम्रो कृषि क्षेत्र सबैभन्दा माथि र महŒवपूर्ण स्थानमा रहेको देखिन्छ । यस्तो कृषि क्षेत्रबाट बढीभन्दा बढी फाइदा लिन कृषि क्षेत्रलाई व्यावसायीकरण गर्दै विविधिकरण गरी कृषकहरूलाई तुलनात्मक लाभ लिन सक्षम बनाउनुपर्ने, कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषकहरूको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनुपर्ने, प्रमुख खाद्यान्न बालीहरू धान, मकै, गहँुलगायतका अन्नहरूको वैज्ञानिक खेतीका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने, तरकारी खेतीको उत्पादन बढाउँदै मौसमी र बेमौसामी तरकारी खेती उत्पादन गरी बढीभन्दा बढी फाइदा लिन सकिने वातावरण तयार गराउने हो भने कृषि पेसा आकर्षक बन्न गई यसमा लगानी बढ्छ र उत्पादन बढ्न जाने निश्चित छ । यस्तो लगानी र उत्पादनले हाम्रो खाद्यान्न आयातमा पर्न गएको चापलाई न्यूनीकरण गर्न निश्चित रूपमा सकिन्छ ।

मुलुकको भौगोलिक बनोट, हावापानी, वातावरण र सो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल आदिलाई सरकारले ‘एक जिल्ला एक उत्पादन’ को कार्यलाई अगाडि सारेको वर्षौं बितिसकेको छ, जुन कार्यले कृषि उत्पादनलाई नराम्रो गरेको छैन । यस्तो कार्य र सोको प्रचार प्रसारले कुनै ठाउँको कुनै निश्चित वस्तुको उत्पादन र मागलाई तीव्र बनाएको छ । यस कार्यले उत्पादन कार्यलाई प्रोत्साहन गरेको छ । हालका दिनमा नेपाल खाद्य संस्थानले मुगु जिल्लामा उत्पादित १७ लाख रुपैयाँ बराबरको हिमाली क्षेत्रको सिमी खरिद गरेर स्थानीय उत्पादनलाई बढावा दिएको समाचार बाहिर आएको छ । आगामी दिनमा यस्तो समाचार हिमाली क्षेत्रका सिमी, फापरलगायत अन्य विभिन्न वस्तुहरूको समेत आउने आशा गर्न सकिन्छ । यस्तो समाचारले त्यस क्षेत्रमा हुने लगानी र उत्पादनलाई अवश्य पनि
बढाउने देखिन्छ ।
नेपालका विभिन्न स्थानमा गरिएको वैज्ञानिक खेतीपातीभन्दा पनि परम्परागत रूपमा गरिएको तरकारी, फलपूmल खाद्यान्नजस्ता वस्तुको उत्पादन आर्गानिक वस्तुका रूपमा हेरिनाले त्यस्ता वस्तुको माग र मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । अतः यस्ता वस्तुको प्रचारप्रसार, लगानी र उत्पादनका लागि शिक्षामा जोड दिने हो भने ग्रामीण क्षेत्रमा खेर गएको श्रम बाँझो भएको जग्गाबाट अधिक फाइदा लिन सकिने देखिन्छ । नेपाली युवापुस्ता वैदेशिक रोजगारमा आकर्षित भएको समयमा पहाडी र हिमाली क्षेत्रको कृषि सजिलै आर्कषक पेसाका रूपमा अगाडि बढ्न सक्ने देखिँदैन । यसको सुरक्षाका लागि बिमा अनि खरिद बिक्रीको जिम्मा सरकारी निकाय वा नेपाल खाद्य संस्थानले लिनुपर्ने हुन्छ । यस्तो कार्यक्रमको जानकारी र प्रचारप्रसारमा समेत सरकारले थप लगानी गर्नुपर्ने देखिन्छ ।
रोजगारीको अभावमा वैदेशिक रोजगारीको लागि भौंतारिएर हिँड्ने केही जनशक्तिलाई कृषि कार्य र पेसालाई आर्कषण बनाउँदै रोक्न सक्ने हो भने बढ्दै गएको कृषि श्रमको अभावलाई कम गर्दै खाद्यान्न आयातलाई न्यून गरी चुलिँदो व्यापार घाटालाई कम गर्न सकिन्छ । मुलुकमा स्थापना भएका र सञ्चालनमा रहेका कलकारखाना, उद्योगधन्दाहरू बन्द हुँदै र परनिर्भरता बढ्दै गएको, बृहत् उत्पादन गर्न नसकिएको र औद्योगिक उत्पादनतर्फ प्रतिस्पर्धामा जान नसकेको अवस्थामा हाम्रो कृषि क्षेत्र आत्मनिर्भरताको जग बनेको कुरालाई नकार्न सकिँदैन । राज्य प्रादेशिक संरचनातर्फ गइरहेको अवस्थामा उद्योगधन्दाको विकास, विस्तार र स्तरीयताले गति नलिएको अवस्थामा आत्मनिर्भरताको जग कृषिबाहेक अरूलाई मान्न कठिन हुन्छ ।

Leave A Reply

Your email address will not be published.