युएईमा मदिरा र अवैध यौन सम्बन्ध नेपालीको मुख्य समस्या बन्दै

uae

मोहन बस्याल/युएई

जनचेतनाका लागि शुक्रबार बरदुबईमा आयोजना गरिएको कार्यक्रममा कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनले युएईका कारागारमा रहेका नेपालीमध्ये अधिकांश मदिरा सेवन गरेको कारण थुनामा परेको बताएका छन् । उनले कारागारमा रहेकामध्ये झण्डै बीस प्रतिशत अबैध यौन सम्बन्ध राखेका कारण जेल परेका पनि जानकारी दिए ।

स्थानीय कानुनलाई बेवास्ता गर्दे जथाभावी मदिरा सेवन गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, जथाभावी झैझगडा गर्ने गरेकाले कारागारमा पर्ने गरेको उनले बताए । ज्यानसम्बन्धी कसुरमा जेलमा रहेका व्यक्ति पनि मदिरा सेवनलगायतका घटनामा संलग्न देखिएको उनले जानकारी दिए ।

गएको नोभेम्बरमा दूतावासका प्रतिनिधिले युएईका आठवटा जेलमा पुगेर संकलन गरेको तथ्यांकमा सय जना नेपाली कारागारमा रहेको पाइएको थियो । त्यसमध्ये ४२ जना नेपाली मदिरा सेवनसम्बन्धी मुद्धामा रहेको पाइएको दूतावासका द्धितिय सचिव कृष्ण अर्यालले जानकारी दिए ।

17238494_10206439705110532_1520490159_n

युएईमा प्रतिमहिना पाँचको औसतमा नेपालीको ज्यान जाने गरेको छ । यसमा ५६ प्रतिशत मदिरा सेवनका कारण हुने गरेको दुतावासको तथ्यांक छ । युएईमा सबैभन्दा बढी हृदयघाटबाट नेपालीको ज्यान जाने गरेको छ । त्यसपछि सडक दुर्घटना, आत्महत्याबाट मृत्यु हुने गरेको छ ।

पछिल्ला दिनमा नेपाली महिला पुरुषहरुबीच यस्तो अवैध सम्बन्ध बढ्न थालेको दुतावासले जनाएको छ । अबैध गर्भ रहने, अवैध गर्भपतन गर्ने जस्ता कारणले पनि नेपाली नागरिक जेल पर्ने घटना देखिन थालेको पाइएको छ । सामान्य सावधानी अपनाउदा पनि यस्ता समस्याबाट बच्न सकिने भएपनि हेलचेक्राई गर्दा कारागारमा बस्नु पर्ने अवस्था देखिएको भन्दै सचेत हुन दूतावासले आग्रह गरेको छ । कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनले युएईमा रहेका संघ सस्थालाई आफ्ना कार्यक्रम राख्दा यस्ता विषयमा जनचेतना जगाउन पनि आग्रह गरे ।

हालै आयोजित एक कार्यक्रममा उनले लागूऔषधको प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग जस्ता विषय पनि युएईमा गम्भिर अपराध भएको भन्दै यसतर्फ सचेत हुन आग्रह गरे । ट्राफिक नियमको पालना गर्न तथा बैंकिङ संस्थाबाट बिप्रेषण पठाउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली बिजनेश काउन्सिल युएईका अध्यक्ष डा. आसिफ अलि सिद्धीकी, एनआरएनए युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, प्रवासी नेपाली मञ्च युएईका सल्लाकार कृष्ण ढकाल, अर्घाखाँची सेवा समाजका अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष लक्ष्मण खनाल, नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेललगायतले दूतावासका सेवा सुविधासह र समस्याबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा कार्यबाहक राजदुत टण्डन, द्धितीय सचिव कृष्ण अर्याल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायतले जवाफ दिएका थिए ।

नेपाली दुतावासले युएई आउने कामदारलाई कानुनी बाटोबाट मात्र कामका लागि आउन आह्वान गरेको छ । संस्थागत रुपमा समुहमा आउदा वा व्यक्तिगत रुपमा आउदा कानुनी बाटोबाटै आउन दुतावासले आग्रह गरेको छ । घरेलु मजदुरका रुपमा आउने महिलाका लागि पनि युएई कानुनी रुपमा खुल्ला रहेको जानकारी दिदै दुतावासले वैधानिक तवरबाटै आउन आग्रह गरेको छ ।

कार्यक्रममा श्रम  काउन्सिलर कार्कीले नेपाल सरकार र युएई सरकारले कामदारको शुन्य लागतको नीति लिएकाले वैधानिक तवरबाट आउदा सेवा शुल्क बाहेकको खर्च नलाग्ने जानकारी दिए । कार्यबाहक राजदुत टण्डनले वैधानिक तवरले घरेलु कामदारका रुपमा आउने महिलाले युएई आउदा पैसा तिर्न नपर्ने बताए । कार्यक्रममा वैदेशिक रोजगारीका लागि युएई आउन चाहिने कागजी प्रक्रियाका बारेमा पनि जानकारी दिइएको थियो ।