हर्षोल्लाससहित सकियो तोरन्ल

राजधानी समाचारदाता

काठमाडौं, १ चैत

विविध सांस्कृति कार्यक्रमसहित थकाली समुदायको तोरन्ल मंगलबारबाट सकिएको छ । फागु पूर्णिमाको दिनबाट सुरु भएको यो चाड मुस्ताङ, म्याग्दी, काठमाडौं तथा थकाली समुदायको बसोबास रहेका विभिन्न ठाउँमा तीन दिन विभिन्न कार्यक्रम गरेर भव्य मनाइयो । काठमाडौंमा पनि बालाजुस्थित थकाली सेवा समितिको प्रांगणमा विभिन्न कार्यक्रम गरेर यो पर्व तीन दिन मनाइयो । काठमाडौंमा गीत गाई नाचगान गर्दै धनुबाण खेलेर हर्षोल्लासका साथ तोरन्ल मनाइयो ।

toranla

तोरन्ललाई पितृ चढाउने चाड भनिन्छ । त्यसैले, यस चाडमा थाकखोला क्षेत्रमा झै काठमाडौंमा पनि थकालीहरूले पितृलाई पूजा गरे । फागु पूर्णिमाको दिनलाई मध्यमा पारी अघिल्लो र पछिल्लो दिन पित चढाइयो ।

पुरुषले त्हस (धनुबाण) र महिलाहरूले नामभोटि (कौडी) र कै (गोट्टी) खेलेर मनाए । काठमाडौंमा पनि तोरन्लका अवसरमा विभिन्न समूहबीच धुनबाण प्रतियोगिता आयोजना गरियो । थकाली सेवा समितिका अनुसार खेतीपाती, पशुपालन, होटल व्यवसाय र व्यापार थकालीका मुख्य पेसा हुन् ।

ऐतिहासिक नुन मार्गमा बसोबास गर्दै आएका थकालीहरू विगतमा उपल्लो मुस्ताङ, तिब्बत र भारतसम्म गई व्यापार गर्दथे । व्यापार व्यवसायका निम्ति जहाँ पुगे पनि तोरन्लमा भने आफ््नो घर फर्कनुपर्छ भन्ने मान्यता उनीहरूमा छ । त्यसैले, बाहिरिएकाहरू तोरन्लमा जसरी पनि फर्कन्छन् ।

यो चाड मनाउने क्रममा चाड आउन केही दिन अगावै घर तथा आँगन सफा गरी कोठाचोटा लिपपोत, रंगरोगन गरी, थरिथरिका रोटीहरू बनाएर एवं पुर्खाका प्रिय खानेकुराहरूको व्यवस्था गरेर मध्यरातमा पितृलाई परिकार चढाउँदै विगत झै यसपटक पनि हर्षोल्लासका साथ यो पर्व मनाई मंगलबार पर्वको समापन भएको सो समितिले जनाएको छ ।