एसईईको सान्दर्भिकता

एसईईको सान्दर्भिकता

बिहीबारबाट मुलुकभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । अहिले मुलुकभरका विद्यार्थी सोही परीक्षाको तयारीमा जुटेका छन् । माध्यमिक शिक्षा परीक्षालाई कतिपयले एसएलसीकै रूपान्तरित परीक्षा शैली भनेर टिप्पणी गरेकाले यो परीक्षा पनि विद्यार्थीका लागि ‘मिनी’ फलामे ढोका हुने डर छ । सरकारले १२ कक्षासम्मलाई विद्यालय शिक्षामा रूपान्तरण गरेपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा सुरु गरेको हो । परीक्षा लिने शैली लगभग एसएलसीजस्तै भएकाले विद्यार्थी एवं अभिभावकमा एकखालको अन्योल कायमै छ ।

परीक्षामा मुलुकभरबाट ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा सहभागी विद्यार्थीको तयारी शैली, परीक्षा लिने तौर–तरिका हेर्दा विगतको एसएलसी शैलीभन्दा खासै फरक देखिँदैन । विद्यार्थीलाई वितरण गरेको प्रवेशपत्रमा एसएलसी परीक्षा लेखेर बोर्डले फलामे ढोकाको त्रासलाई कायमै गरिएकाले यसको पुष्टि गर्छ । माध्यमिक शिक्षा परीक्षालाई फलामे ढोकाकै रूपान्तरित रूप बनाउनुहुन्न भन्नेमा अभिभावक, विद्यार्थी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरूसमेत सचेत हुन जरुरी छ । हाम्रो समाजले एसएलसी परीक्षाको रिजल्टपछि विद्यार्थीको भविष्य निर्धारण हुन्छ भन्ने मान्यता राखेकै कारण विगतमा एसएलसीलाई अभिभावक र विद्यार्थीले ‘हाउगुजी’ का रूपमा बुझे । यतिसम्म कि कतिपय विद्यार्थी एसएलसी अनुत्तीर्ण भएकै कारण आत्महत्या गर्नसमेत विवश भए । यही कारण एसएलसी खारेज गरेको सरकारले फेरि त्यही शैलीमा माध्यमिक शिक्षा परीक्षा लियो भने विद्यार्थीको करिअरमा ताŒिवक अन्तर देखिँदैन । परीक्षामा दिइने अंकका आधारमा मात्रै विद्यार्थीको क्षमता प्रस्टिँदैन भन्दै परीक्षा नियन्त्रण कार्यालयले लेटर ग्रेडिङसमेत सुरु गरेको छ । अर्को कुरा विद्यार्थीले १० वर्षसम्म गरेको मेहनत केवल तीन घण्टाको परीक्षाले मापन गर्न सक्दैन भन्नेमा फेरि एकपटक शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायका अधिकारी सचेत हुन जरुरी छ ।

माध्यमिक परीक्षा शिक्षाका सन्दर्भमा परीक्षासँग सरोकार राख्ने अधिकारीहरूले जे–जस्तो प्रतिक्रिया दिए पनि आम विद्यार्थी र अभिभावकले अहिलेसम्म ‘मिनी एसएलसी’ कै रूपमा बुझेका छन् । माध्यमिक शिक्षा परीक्षामा राम्रो ग्रेड ल्याउनेहरू त उच्च शिक्षामा सहभागी होलान्, ग्रेडिङ थोरै हुनेहरू कता जाने ? प्राविधिक शिक्षा लिनका लागि कतिसम्म ग्रेडिङ हुनुपर्छ भन्नेमा समेत विद्यार्थीलाई जानकारी छैन । एसएलसी खारेज हुनुको अर्थ विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भए भन्ने होइन । हरेक व्यक्तिमा फरक क्षमता हुन्छ । फरक क्षमता हुने व्यक्तिले आफूलाई फरक रूपमा प्रस्तुत गर्न सक्छ भन्ने हो । माध्यमिक परीक्षा शिक्षाले फरक क्षमता भएका विद्यार्थीलाई फरक काम गर्न प्रेरित गर्छ कि गर्दैन हेर्न बाँकी छ । मानौं कुनै विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिएपछि प्राविधिक शिक्षा लिन चाह्यो । उसले प्राविधिक शिक्षा पढ्न पाउने कि  नपाउने ? अथवा, कस्तो विषयमा अध्ययन गर्न पाउने ? यस्ता विषय स्पष्ट हुन जरुरी छ । भयरहित वातावरणमा परीक्षा लिने र दिने अवस्था सिर्जना गरी बोर्डले परीक्षाको मर्यादालाई कायम राख्न सक्नुपर्छ । परीक्षार्थीलाई शुभकामना !