राप्रपा विधानबाट हट्यो हिन्दु राष्ट्र र राजसंस्था

राजधानी समाचारदाता / काठमाडौं

निर्वाचन आयोगले राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै विधानमा उल्लेखित हिन्दु राष्ट्र एवं राजसंस्थासम्बन्धी वाक्यांश हटाइदिएको छ । गत ५ देखि १० फागुनसम्म राजधानीमा भएको राप्रपा एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित केही वाक्यांश ‘संविधानसँग मेल नखाएको’ भन्दै निर्वाचन आयोगले हटाइदिएको हो ।

आयोगद्वारा गत २ चैतमा स्वीकृत ‘राजनीतिक दलको विवरण अद्यावधिक र निर्वाचन चिह्न सम्बन्धमा’ भन्ने निर्णयको बैठक संख्या १०५, प्रस्ताव दर्ता २३५÷२०७३ मा ‘नेपालको संविधानको धारा ४ मा उल्लेखित धर्मनिरपेक्ष तथा गणतन्त्रात्मकसम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको तथा राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ८ को उपदफा (१) को खण्ड (ग) मा दलको नाम, उद्देश्य, चिह्न वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई विखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न इन्कार गर्न सक्ने उल्लेख भएको देखिँदा उक्त हिन्दु राष्ट्र एवं राजसंस्थासहितको र हिन्दुत्वको भन्ने वाक्यांश हटाई विधानको बाँकी बेहोरालाई प्रमाणित गर्ने’ भनिएको छ ।

राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश छ । यसैगरी, विधानको धारा ५ मा ‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश छ ।

त्यस्तै, निर्वाचन आयोगले राप्रपालाई चुनाव चिह्न ‘गाई’ दिएको छ । यसअघि, महाधिवेशनपछि बसेको पार्टी केन्द्रीय समिति बैठकबाटै चुनाव चिह्न ‘गाई’ रहने तय भएको थियो ।

राप्रपा प्रवक्ता सुशीलकुमार श्रेष्ठले निर्वाचन आयोगको निर्णयबारे आफूहरूलाई औपचारिक जानकारी नभएको बताए । आयोगले ‘राजसंस्था र हिन्दु राष्ट्रको वाक्यांश हटाए अदालत जाने’ चेतावनीसमेत श्रेष्ठले दिए । ‘पार्टी खोल्ने र आफ्नो विचार राख्न पाउने स्वतन्त्रताको संवैधानिक अधिकार सबैलाई छ, यदि आयोगले त्यस्तो निर्णय गरेको भए हामी कोर्टमा जान बाध्य हुन्छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

निर्वाचनमा सहभागी नहुने थापाको चेतावनी

काठमाडौं / रास– राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले हिन्दु राष्ट्रको एजेन्डा बोक्न नदिए राप्रपा निर्वाचनमा सहभागी नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार ट्विट गर्दै थापाले हिन्दु राष्ट्रको एजेन्डा बोक्न नपाउने हो भने राप्रपा निर्वाचनमा सहभागी नहुने लेखेका छन् । ट्विटमा लेखिएको छ, ‘संविधानले विचार स्वतन्त्रता सुनिश्चित गरेको छ, पार्टीको विचार निषेध गर्ने अधिकार कसैलाई छैन, विचार निषेध गर्ने भए चुनावमा भाग लिनुको औचित्य रहन्न ।’

त्यस्तै, उनले दोस्रो ट्विटमा ‘संविधानले हिन्दु राष्ट्र र राजसंस्थाको विचार लिएर जनतामा जान निषेध गरेको छैन, विचार स्वतन्त्रतामा बन्देज लगाउनु चुनाव हुन नदिने षड्यन्त्र हो,’ भनेका छन् ।

उनको तेस्रो ट्विटमा ‘विचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होइन, विद्रोहको बाटो रोज्नुपर्ने हुन्छ, के हामीलाई त्यही बाटोतर्फ धकेल्न खोजेको हो’ भनी प्रश्न गरिएको छ ।

चौथो ट्विटमा थापाले ‘राप्रपा संविधान र संवैधानिक व्यवस्थास“ग सहकार्य गर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा हिँडेको’ उल्लेख छ । अगाडि भनिएको छ, ‘कृपया संवैधानिक बाटो अवरुद्ध नगरियोस् ।’

निर्वाचन आयोगले राप्रपा विधान संविधानसँग बाझिएको भन्दै विधानमा उल्लेखित ‘हिन्दु राष्ट्र एवं राजसंस्थासम्बन्धी वाक्यांश हटाइदिएको’ समाचार बाहिर आएपछि एकैदिन थापाले चार ट्विट गरेका हुन् ।