पार्क गेउन–हाई उत्थान र पतन

पार्क गेउन–हाई उत्थान र पतन

केशरमणि कटुवाल

भनिन्छ, वर्षौं लगाएर बनाएको प्रतिष्ठा एकैपटक गर्लम्मै ढल्न सक्छ । त्यस्तै भयो, दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन–हाईको हकमा पनि । वर्षौं लगाएर बनाएको राजनीतिक विरासत एकै कार्यकालमा गरेका केही निर्णयका कारण विवादित बन्यो, महाअभियोग लाग्यो र  सत्ताबाट बाहिरिनुप¥यो ।
पार्क विश्वका ती कमै महिलामध्ये पर्थिन्, जसले आफ्नो देशलाई हाँकिरहेका छन् । अहिले पनि विश्वमा राष्ट्रप्रमुख र सरकारप्रमुखका रूपमा बेलायत, अस्ट्रेलिया, बंगलादेश, जर्मनीजस्ता झन्डै तीन दर्जन देशलाई महिला नेतृहरूले हाँकिरहेका छन् । गत वर्ष सन् २०१६ यस्तो वर्ष रह्यो कि विश्वमा दुई महिला राष्ट्रपतिले एकै प्रक्रियाबाट पद छाड्नुपरेको छ । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफमाथि महाअभियोग लागेको केही समयपछि नै दक्षिण कोरियाली राष्ट्रपति पार्कमाथि पनि महाअभियोग संसद्ले पारित ग¥यो र आठ सदस्यीय संवैधानिक अदालतमा पठायो । गत साता यसको फैसला सुनाउँदै संवैधानिक अदालतले पनि संसदको निर्णयलाई कायम राखेपछि पार्कले ब्लु हाउस औपचारिक रूपमा छाड्नुपरेको छ । उनी दक्षिण कोरियाकी यस्तो महिला राष्ट्रपति हुन्, जो पहिलोपटक लोकतान्त्रिक रूपमा विजयी भइन् र महाअभियोगको सामना गर्दै पदबाट बिदा हुने पनि पहिलो राष्ट्रपति बनिन् । पार्कको राजनीतिक करिअरमा अत्यन्तै नजिकबाट सहयोग गरिरहेकी साथी चोई सुन–सिलसँगको भ्रष्टाचार काण्डले उनको पद नै गुमेको हो । उनीमाथि भ्रष्टाचारमा संलग्न भएको र सरकारी दस्तावेजलाई लिक गराएको अभियोग लागेको छ । अब दक्षिण कोरियामा दुई महिनाभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने छ । गत वर्षकोे अन्त्यमा दक्षिण कोरियामा विशाल प्रदर्शनहरू भए । त्यसको केन्द्रमा थिए राष्ट्रपति पार्क गेउन–हाई र उनकी सहयोगी चोई सुन–सिल । जो भ्रष्टाचार काण्डको केन्द्रमा पनि थिए । राष्ट्रपति पार्ककी पुरानो मित्र चोईले नजिकको सम्बन्धको दुरुपयोग गर्दै विभिन्न कम्पनीसँग दबाब बनाएर लाखौं डलर उठाएको र वित्तीय लाभ लिएका तथा यसमा राष्ट्रपतिको संलग्नता रहेको आरोप थियो ।

park-gyun-hye

कसरी उदाइन् र कसरी गुम्यो पद ?

दक्षिण कोरियाको राजनीतिमा निकै सफल नेतृका रूपमा आफूलाई उभ्याउँदै राष्ट्रपतिको कुर्सीसम्म आसिन हुन पुगेकी पार्क गेउन–हाई एक राजनीतिक परिवारमा हुर्किएकी महिला हुन् । पार्क गेउन–हाईका बाबु पार्क जङ–ही दक्षिण कोरियाका पूर्वराष्ट्रपति हुन् । उनले राष्ट्रपतिका रूपमा सन् १९६३ देखि १९७९ सम्म कार्यभार सम्हालेका थिए । उनकी छोरी पार्क गेउन–हाईले ११औं राष्ट्रपति बनिन् ।
सन् १९७४ मा पार्क गेउन–हाईकी आमालाई उत्तर कोरियाका जासुसले हत्या गरिदिएका थिए । उनीहरूको उद्देश्य उनका बाबुको हत्या गर्नु थियो । जुनबेला पार्क गेउन–हाई २२ वर्षको उमेरमा युरोपमा अध्ययनरत थिइन् । सन् १९७९ मा उनका पिताको पनि हत्या भयो । पार्कका पिता सैन्य प्रमुख र राष्ट्रपति थिए । पार्कको दोस्ती यसै दुःखद समयमा चोई सुन–सिलसँग भएको थियो । बाबु र आमाको हत्यापछि दक्षिण कोरियाली राजनीतिमा आफ्ना बाबुको बिरासतसहित होमिएकी पार्कमाथि आफू राजनीतिमा प्रवेश गर्नुको उद्देश्य पुष्टि गर्नुपर्ने चुनौती थियो । राष्ट्रपति बन्नुअघि सफल राजनीतिज्ञको शिखरमा पुगेकी पार्क त्यसपछि भने क्रमशः अधोगतितर्फ धकेलिन पुगिन् । त्यसमा मलजल गर्ने काम उनकै साथी चोईले गरिन् । कतिपय समयमा राष्ट्रपति पार्कले उनकै कठपुतलीका रूपमा काम गरिरहेका अभिव्यक्तिहरू पनि आउने गर्दथे । तर, यस्तो सनसनीपूर्ण दाबी प्रमाणित हुन नसके पनि अनुसन्धानका क्रममा चोईले सरकारको नीतिलाई प्रभावित पार्ने गरेको र गोप्य सूचना हासिल गर्ने गरेको पाइएको छ । गत वर्षको २० नोभेम्बरमा चोईका विरुद्ध विभिन्न आरोप तय भएका थिए र अहिले पनि उनीमाथि मुद्दाहरू चलिरहेका छन् ।

राष्ट्रपतिविरुद्ध विपक्षी सांसदले मात्रै नभई सत्ताधारी दलका सांसदले पनि मतदान गरेका थिए । एउटा दुःखको अवस्थामा नजिकिन आएकी साथीका कारण आफूले यस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने कुरा उनले सायदै सोचेकी थिइन् होली ।

सामान्य अवस्थामा आगामी वर्षसम्म राष्ट्रपतिको कार्यकाल भए पनि त्यसअघि नै महाअभियोगबाट बर्खास्त भएकी उनी गत वर्ष सन् २०१६ को नोभेम्बर ९ देखि निलम्बित अवस्थामा थिइन् र उनको कार्यभार संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री ह्वाङ क्यो–अहले सो सम्हालिरहेका थिए । दक्षिण कोरियाको सत्ताधारी सेनुरी पार्टीबाट उम्मेदवार बनेकी पार्कले विपक्षी डेमोक्रेटिक युनाइटेड पार्टीका उम्मेदवार मुन जे–इनलाई पछि पार्दै दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । उनले कुल मतको ५१.६ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्द्वी मुन जे–इनले ४८ प्रतिशत मत पाएका थिए । दक्षिण कोरियाको राजनीतिमा निकै लोकप्रिय पात्रका रूपमा आफूलाई उभ्याएकी उनले आफू राष्ट्रपतीमा निर्वाचित भएको खण्डमा पिताको राजनीतिक सफलताको अनुकरण गर्ने बताएकी थिइन् । कन्जरभेटिभ ग्रान्ड नेसनल पार्टीमा सन् २००४ देखि २००६ सम्म सभापति बनेकी उनले सन् १९९८ देखि सन् २०१२ सम्म लगातार पार्टीका तर्फबाट निर्वाचित भएर दक्षिण कोरियाको राजनीतिमा आफ्नो वर्चश्व र आवश्यकतालाई स्थापित गरे पनि राष्ट्रपतिमा निर्वाचित भएपछि उनले त्यही हैसियत कायम राख्न नसक्दा आज दुःखद परिणाम र कालो धब्बा लिएर बाहिरिनुपरेको छ ।

कुकुरको छाउराको लहरोले तान्यो पहरो  !

दक्षिण कोरियाको राजनीतिमा भ्रष्टाचार स्क्यान्डलले राष्ट्रपति पार्क गेउन–हाईलाई पदबाट बिदा गराएको छ । जसमा एउटा कुकुरको ठूलो भूमिका रह्यो । योङ टे नामका व्यक्तिलाई राष्ट्रपति पार्ककी साथी चोई सुन–सिलले आफ्नी छोरीको कुकुरको छाउरो हेर्नका लागि राखिएको थियो, तर योङ टे नामका ती व्यक्ति कुकुरलाई छाडेर गल्फ खेल्नका लागि गए । जसलाई लिएर राष्ट्रपतिकी मित्र सिलसँग झगडा भयो । योङ टेले राष्ट्रपतिकी साथीका विरुद्ध भ्रष्टाचारको विषयमा सञ्चारमाध्यममा सारा सूचना दिए, त्यसैबाट फैलिएको आँधीले राष्ट्रपतिको पद नै गयो । यी सूचनामा राष्ट्रपति कार्यालयबाट गोप्य सूचना लिक भएकोदेखि सामसुङजस्तो विशाल कम्पनीसँग राष्ट्रपतिकी साथी चोई फाउन्डेसनले वित्तीय लाभ लिएको, कतिपय कम्पनीसँग दबाबपूर्ण रूपमा पैसा असुलेकोसम्मका घटनाहरू सामेल थिए ।

choi
योङको राष्ट्रपतिकी साथी चोईसँग सम्बन्ध रहेको बताइए पनि उनी स्वयंले संसदीय समितिसँगको बयानमा त्यसलाई अस्वीकार गरेका छन् । बरु, उनले चोईले आफूमाथि ‘नोकर’ को जस्तो व्यवहार गर्ने गरेको र त्यसैका कारण केहीपटक झगडा परेको बताएका थिए । त्यसैले, उनले चोईसँग बदला लिन पार्क र चोईबीचको सम्बन्धबारे खुलासा गरेका हुन् । उनले नै महिनौंसम्म लगाएर यसबारेमा प्रमाण जुटाएका थिए । यसमा एउटा सीसीटीभी फुटेज पनि थियो, जसमा चोईले राष्ट्रपतिका अन्य सहयोगीसँग नोकर’ को जस्तो व्यवहार गरेको देखिएको छ । योङ एसियाली खेलमा फेन्सिङमा स्वर्ण पदक जितिसकेका र खेलजीवनबाट सन्न्यास लिइसकेका व्यक्ति हुन् । योङको चोईसँग कुराकानी सन् २०१२ मा पार्क राष्ट्रपति बन्ने बेलामा भएको थियो । त्यसबेला उनी हातेब्याग र कपडा बनाउने कम्पनी चलाइरहेका थिए । त्यसै समयदेखि उनीहरू नजिकिएका हुन् । राष्ट्रपतिमाथि महाअभियोग नै लागिसकेपछि उनी दक्षिण कोरियामा एक सेलिब्रेटीका रूपमा स्थापित भएका छन् ।

park-supporters
दक्षिण कोरियाली राष्ट्रपति पार्कको विदाईसँगै विश्वमा अर्की एक सशक्त महिला राजनीतिज्ञको कार्यकालको अन्त्य भएको छ । दक्षिण कोरियाको नेसनल एसेम्बलीमा भएको महाअभियोगको प्रस्तावमाथिको मतदानमा उनको पक्षमा ५६ मत परेको थियो भने विपक्षमा २ सय ३४ भोट परेको थियो । यसको मतलब राष्ट्रपतिका विरुद्ध विपक्षी सांसदले मात्रै नभई सत्ताधारी दलका सांसदले पनि मतदान गरेका थिए । एउटा दुःखको अवस्थामा नजिकिन आएकी साथीका कारण आफूले यस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने कुरा उनले सायदै सोचेकी थिइन् होली । उनी छिमेकी उत्तर कोरियाका लागि पनि यस्ती पात्र थिइन्, जसले आफ्ना बाबुआमाकै हत्या गरेको थियो । उनले राष्ट्रपति बनेमा बाबुको अनुकरण गर्ने भन्नुको अर्थ उत्तर कोरियासँगको तनावसँग पनि जोडिएको थियो । करिब पाँच वर्षको अन्तरमा बाबुआमालाई नै गुमाएकी उनले पदमा आएर जुन काम गर्ने अठोट व्यक्त गरेकी थिइन्, त्यसमा उनको सम्बन्ध भने बाधक बन्यो ।
विश्वको राजनीतिमा सीमित घेराबन्दी तोड्न नसक्नाले ठूला राजनीतिज्ञ गोलचक्करमा फस्ने गरेको पाइन्छ । त्यसकै एउटा पुनरावृत्ति हो, पार्कको सत्ता बहिर्गमन । विश्वमा तेस्रो विश्वका देशको राजनीतिक अवस्था धेरै हदसम्म यसको पेरिफेरीमा घुमेको पाइन्छ । यो घटनाले दक्षिण कोरियाको राजनीतिमा तरंग पैदा गर्नुका साथै सीमित घेराबाट बाहिर निस्कन नसक्दा कसरी आफ्नाबाट नै राजनीतिक नेतृत्वको पतन हुन्छ भन्ने गतिलो उदाहरण पनि हो ।