अतिक्रमणको चपेटामा कृष्णसार

सुदीप अधिकारी / राजधानी

बर्दिया, ५ चैत

मुलुकमै लोपोन्मुख वन्यजन्तुका रूपमा चिनिएको कृष्णसारको मुख्य बासस्थान बर्दिया मानिन्छ । कृष्णसार नेपालबाट लोप हुन थालेपछि यसलाई वन्यजन्तु ऐन २०२९ ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । राज्यले संरक्षित वन्यजन्तु मानेर संरक्षणको प्रयास गरे पनि यो वन्यजन्तु यतिखेर संकटमा पर्न थालेका छन् । बासस्थान क्षेत्रमा मानव अतिक्रमण बढ्न थालेपछि कृष्णसार संकटमा पर्न थालेका हुन् ।

सदरमुकाम गुलरियादेखि करिब ७ किलोमिटर पश्चिम उत्तरखैरापुर क्षेत्र कृष्णसारको मुख्य बासस्थान हो । कृष्णसारको संरक्षणका लागि सो क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट २०६५ पुसमा कृष्णसार संरक्षण क्षेत्रका रूपमा घोषणा गरिएको थियो ।

यसको क्षेत्रफल करिब ७ सय ८ बिघा रहेको भनिए पनि अहिले करिब ५ सय बिघामा खुम्चिएको जानकारहरू बताउँछन् । करिब ३ सय बिघा क्षेत्रफल अतिक्रमणमा परेको बताइन्छ । २०२६ देखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीले घरटहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि कृष्णसार संरक्षण क्षेत्र अतिक्रमणमा पर्न थालेको स्रोतले बतायो ।

कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको पुरानो ऐलानी बस्ती र केही नयाँ सुकुम्बासी बस्तीले यो क्षेत्रलाई अतिक्रमण गरेका छन् । अतिक्रमण गरी बसेकालाई अन्यत्र पुनःस्थापना गर्ने सरकारी निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सुकुम्बासीलाई १० धुर र पुरानो बस्तीलाई ३ कट्ठा जग्गा उपलब्ध गराई पुनःस्थापन गर्ने सरकारी निर्णय भए पनि यो काम सुरु हुन नसक्दा कृष्णसार क्षेत्र अतिक्रमण मुक्त हुन नसकेको हो ।

संरक्षित क्षेत्रमा हाल ६१ वटा भाले १ सय ४९ पोथी गरी २ सय १० वटा कृष्णसार छन् । यसैगरी, अतिक्रमणसँगै आहाराको खोजीमा कृष्णसारहरू संरक्षण क्षेत्र छाडी बाहिर गाउँतर्फ जाने क्रम बढ्दै गएको छ । आहाराको खोजी गर्दै जाँदा कृष्णसार चोर तथा सिकारीको पासोमा पर्दै गएका छन् भने भुस्याहा कुकुरको आक्रमणमा समेत पर्दै आएका छन् । आहारा खोज्दै गाउँ पसेका २ भाले र ३ पोथी कृष्णसार अघिल्लो वर्ष हराएका थिए भने छाडा छाडिएको पशुचौपायाबाट सरेको खोरेत रोगका कारण अघिल्लो वर्ष १५ वटा कृष्णसार मरेका थिए