पीडितको छाप्रोमा चिउरा, नुन र खुर्सानी

केशवराज पौडेल / राजधानी

काभ्रे, ५ चैत

चण्डेनी मण्डनका केदार नेपालले भूकम्पका बेलामा समेत चिउरामा नुनखुर्सानी मिसाएर खाएका थिएनन् । शुक्रबार चलेको हावाहुरीपछि उनले बेलुकाको छाक नुनखुर्सानीसँग चिउरा खाएर टारे । दिउँसो एक बजेदेखि सुरु भएको हावा साँझा ६ बजेसम्म रोकिएन । इन्द्रावती किनारामा रहेको उनको बस्तीका करिब ३ सय घरपरिवारले नुन, खुर्सानी र चिउराको भरमा रात कटाए ।

earth

‘डरलाग्दो  हावाहुरी आयो, बाँच्ने आस नै थिएन,’ स्थानीय वासुदेव नेपालले भने, ‘औषधि खान तातोपानीसमेत तताउन पाइएन । भूकम्पका बेलासमेत नुन र चिउरा मोलेर खान परेको थिएन,’

उनले भने ।  एकोहोरो चलेको हावाहुरीले घरको जस्तापाता फालेपछि रातभर खुला आकाशमै बसेको नेपालले सुनाए । बिजुली गयो, मोबाइल चलेन, आफन्तसँग कुराकानीसमेत गर्न नपाएको सुनाउँदै उनले भने, ‘घरमा चाउचाउ भइदिएको भए हुन्थ्यो जस्तो लागिरह्यो ।’

यसैगरी, महादेवस्थानका हरिराम पौडेल शनिबार बिहानैदेखि शुक्रबार साँझ घरबाट उडाएको जस्तापाता खोजिरहेका थिए । ‘कुनै पनि काम लाग्ने रहेनछ,’ उनले जस्तापाता उठाँउदै भने । उनको टोलमा मात्रै २ सय टहराको जस्तापाता हावाले उडाएको उनले बताए । ‘यहाँ पनि नुनखुर्सानासँग चिउरा खाएर छाक टा¥यौं,’

उनले भने । धेरै ठाउँमा चट्याङ परेपछि टहरोमा आगलागीसमेत भएको छ । एक वर्षमा मात्रै काभ्रेका २० भन्दा धेरै ठाउँमा भूकम्पपछि निर्माण भएका टहरामा आगलागी भएको हो । शुक्रबार काभ्रेको बनेपामा स्थानीय कृष्णहरि दाहालको गोठमा आगलागी भएको छ । टहरोमा रहेका भंैसी र गाई आगलागीमा परी नष्ट भएका छन् ।

भूकम्पपछि पुनर्निर्माणको पहिलो किस्ता पाए पनि आर्थिक अभावमा घर बनाउन नसकेका भूकम्पपीडितहरूको जस्ताको छाप्रोसमेत हुरीले उठाएपछि उनीहरू बिचल्लीमा परेका छन् । काभ्रेमा मात्रै १० हजार भूकम्पपीडितहरूको अस्थायी टहरा हावाले उडाएको छ ।