बदनियत देखिए लेखापरीक्षकले उजुुरी दिँदा हुन्छ

बदनियत देखिए लेखापरीक्षकले उजुुरी दिँदा हुन्छ

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालमा लेखा व्यवसायको विकास, संवद्र्धन र नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ द्वारा स्थापित संस्था हो । सो संस्थामा करिब ११ हजार चार्टर्ड एकाउन्टेन्ट सदस्य तथा करिब सात दर्तावाला लेखापरीक्षक सदस्य रहेका छन् भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा गरी करिब १५ हजार विद्यार्थी अध्ययनरत छन् । भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सन् १९९७ मा चार्टर्ड एकाउन्टेन्सी शिक्षा उत्तीर्ण गरी निरन्तर रूपमा लेखा व्यवसाय सञ्चालन गर्दै आएका सीए महेश खनाल हाल सो संस्थाको अध्यक्ष पदमा कार्यरत छन् । अत्यन्त सरल र मिलनसार स्वभावका सीए खनाल जस्तोसुकै परिस्थितिमा पनि आफ्नो काम धैर्यपूर्वक गर्दै गन्तव्यसम्म पु¥याउन कहिल्यै पछि परेनन् । हाल अध्यक्ष खनाल चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अन्तर्राष्ट्रियस्तरको शिक्षामा विकास गर्न लागिपरेका छन् । नेपालमा चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको अवस्था र यस शिक्षासम्बन्धी विभिन्न पक्षमा आधारित रहेर अध्यक्ष खनालसँग राजधानीका लागि कमला अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

mahesh

सीए महेश खनाल,
अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था

० यस वर्ष संस्थाले के–के कार्ययोजना  बनाएको छ ?

– हरेक संस्थाको आर्थिक गतिविधिहरूमा लेखा व्यवसायीहरूको महŒवपूर्ण भूमिका रहेको हुन्छ । समाजले व्यक्तिगत रूपमा लेखा व्यवसायीलाई चिनेको हुँदैन, तर यस पेसाप्रति समाजको सम्मान र विश्वास रहँदै आएको छ । यस पेसाप्रतिको सम्मान र विश्वासलाई कायम राख्न लेखा व्यवसायी अझ अनुशासित हुनु जरुरी देखिन्छ । लेखा व्यवसायीप्रति समाज र राष्ट्रको ठूलो अपेक्षा र विश्वास रहेको छ । यस अपेक्षा र विश्वासलाई पूरा गर्न लेखा व्यवसायीले आफ्नो योग्यता तथा क्षमतालाई अझै परिस्कृत र परिमार्जित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा आफ्नो क्षमतालाई प्रस्तुत गरी समाज र राष्ट्रको चाहनालाई परिपूर्ति गर्न सक्ने बन्नुपर्ने अवस्था सिर्जना भएको मैले पाएको छु । यसका लागि संस्थाले आफ्नो तीन वर्षे रणनीतिक कार्ययोजना दुई वर्षअघि बनाएको थियो । सो रणनीतिक कार्ययोजनाका कार्यलाई निरन्तरता दिँदै यस वर्ष केही थप कार्ययोजनालाई अगाडि बढाइने योजना बनेका छन् । जसमा मुख्यतः चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई प्राथमिकताका साथ अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक कार्य अगाडि बढाउने योजना छ ।
त्यस्तै, अहिलेको मुख्य चुनौती भनेको नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागू गर्ने रहेको छ । यसका लागि अन्य नियमनकारी निकाय तथा सम्बन्धित संस्थाहरूसँग आवश्यक सहकार्य गरी कार्यहरू तदारुकताका साथ अगाडि बढाइने योजना यस संस्थाले बनाएको छ । त्यस्तैगरी, यस संस्थाका सदस्यको क्षमता अभिवृद्धिको कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन योजनाहरू बनेका छन् । हालै गठन भएको क्वालिटी एस्योरेन्स बोर्डलाई लेखा व्यवसायी फर्महरूको गुणस्तर परीक्षणको कार्य अगाडि बढाउन आवश्यक सबै उपायहरू अवलम्बन गरिने गरी योजना बनाइएको छ । यी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल सरकार, संस्थाको व्यवस्थापनका साथै सम्पूर्ण सम्बद्ध पक्षहरूको सहयोग मिल्ने मैले विश्वास लिएको छु । यदि सबैको सहयोग भएमा एक दिन हामी पक्कै पनि चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई विश्वव्यापी बनाउन सक्षम हुन्छौं ।

० संस्थाको नियमनकारी भूमिका प्रभावकारी छैन भन्ने कुरा पनि आइरहेको छ नि ?

– संस्थाले आफ्नो नियमनकारी भूमिकालाई प्रकावकारी रूपमा अगाडि बढाउन विगतदेखि नै पहल गर्दै आइरहेको छ । यस पेसामा रहेका विकृति, विसंगति तथा अनुशासनहीन क्रियाकलापलाई रोक्नका लागि ऐनमा नै पूर्ण अधिकारसहितको अनुशासन समितिको व्यवस्था रहेको छ । जसले संस्थाको ऐन, नियम, निर्देशन तथा आचारसंहिता उल्लंघन गर्ने सदस्यहरूलाई कारबाहीको दायरामा ल्याउन महŒवपूर्ण काम गरेको मैले विश्वास गरेको छु । त्यस्तै, लेखा व्यवसायी फर्महरूको गुणस्तर परीक्षणका लागि विगतदेखि नै पियर रिभ्युका माध्यमबाट कार्यहरू अगाडि बढाइएकामा विश्वव्यापी रूपमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै हालै नियमावलीमा व्यवस्थासहित क्वालिटी एस्योरेन्स बोर्डको गठन भएको छ । यस बोर्डले प्रभावकारी रूपमा लेखा व्यवसायी फर्महरूले प्रदान गर्ने सेवाको गुणस्तर परीक्षण गर्नुका साथै न्यूनतम गुणस्तर नअपनाउने फर्महरूलाई काम गर्न रोक्न परिषद्मा सिफारिस गर्नेसम्मको अधिकार दिइएको छ । त्यसैले, यस संस्थासँग भएको स्रोत साधनअनुसार संस्थाले नियमनकारी भूमिका प्रभावकारी रूपमा नै अगाडि बढाएको छ भन्ने मलाई लागेको छ ।

० लेखापरीक्षण प्रतिवेदनको विश्वसनीयताबारे विभिन्न कुराहरू बाहिर आउने गरेका छन् । यसबारे प्रस्ट पारिदिनुस् न ?

– अहिले पनि समाजले लेखा र लेखापरीक्षण कार्यलाई एउटै आँखाले हेर्ने गरेको छ । यी बिल्कुल अलग कुराहरू हुन् । कुनै पनि संस्थाले प्रचलित नियमअनुसार लेखा राखी तयार गरेको प्रतिवेदनमा आफ्नो राय दिने काम मात्र लेखापरीक्षकको हुन्छ । यसरी राय दिँदा लेखापरीक्षकहरूले संस्थाले जारी गरेका निश्चित मापदण्ड, निर्देशन तथा आचारसंहिताको परिधिभित्र रही आफ्नो व्यवसायिक कार्य गर्नुपर्ने हुन्छ । यसरी संस्थाले तोकेका मापदण्ड पूरा नगरी लेखापरीक्षण गर्ने सदस्यहरूलाई संस्थाले कारबाही गर्दै आइरहेको छ । यस पत्रिकामार्फत म के भन्न चाहान्छु भने यदि कुनै पनि लेखापरीक्षकहरूले बदनियतपूर्वक लेखापरीक्षण गरेको भएमा सप्रमाण संस्थामा जानकारी दिन म आम जनसमुदायलाई अनुरोध गर्छु ।
साथै, त्यस्ता सदस्यहरू जसले बदमासी गरेका रहेछन् भने त्यस्ता सदस्यहरूलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन भन्ने सार्वजनिक प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु । त्यसैले, केही कमी कमजोरीहरूलाई लिएर समग्र लेखा व्यवसायलाई नै बदनाम गर्ने जुन प्रयत्नहरू गरिएका छन्, त्यसमा कुनै सत्यता छैन । अहिले हाम्रो लेखा व्यवसाय अन्तर्राष्ट्रियस्तरमा अगाडि बढिरहेको छ र यसमा देखिएका केही कमी कमजोरीहरूलाई हटाउन संस्था पूर्ण रूपले लागिरहेको म सबैलाई जानकारी दिन चाहन्छु ।

० अर्थतन्त्रमा चार्टर्ड एकाउन्टेन्टहरूको योगदान कस्तो रहेको छ ?

– चार्टर्ड एकाउन्टेन्ट भन्ने बित्तिकै हामी एकाउन्टेन्टका रूपमा मात्र हेर्ने गर्दछौं । हाम्रो यो हेराइ नै गलत छ । यो पुरानो मान्यता होजस्तो मलाई लाग्छ । अहिले तपाईंले विभिन्न निकायमा हेर्नुभयो भने चार्टर्ड एकाउन्टेन्टहरू विभिन्न महŒवपूर्ण पदमा रहेर संस्थाको नेतृत्व सम्हालिरहेका छन् । अझ महŒवपूर्ण कुरा त के छ भने जुन संस्थाहरूको नेतृत्व चार्टर्ड एकाउन्टेन्टले लिएको छ, आज ती संस्थाहरूले राम्रो प्रगति पनि गरिरहेका छन् ।
त्यसैले, यस योग्यताको हामी सबैले कदर गर्नैपर्छ । सरकारसँग पनि हाम्रो के अनुरोध छ भने कम्तीमा अर्थ मन्त्रालय, महालेखा नियन्त्रण कार्यालय, आन्तरिक राजस्व विभाग आदिमा चार्टर्ड एकाउन्टेन्टहरू राख्ने व्यवस्था गर्ने तथा कम्तीमा पनि सूचीकृत कम्पनीहरूको वित्त प्रमुखमा यस संस्थाको सदस्य रहने प्रावधान राखौं भन्ने संस्थाको धारणा रहेको छ । त्यसैले, देशको मेरुदण्डका रूपमा रहेको अर्थतन्त्रको विकासमा लेखा व्यवसायीहरूको महŒवपूर्ण योगदान रहेको छ र यसलाई अझ प्रभावकारी रूपमा राज्यले उपयोग गर्न सक्नुपर्दछ भन्ने मेरो मान्यता रहेको हो ।

० सरकार, अर्थ मन्त्रालय, महालेखा परीक्षक तथा आन्तरिक राजस्व विभागसँग कस्तो सहकार्य गर्दै आउनुभएको छ ?

– संस्थाले कर, राजस्व कानुन, प्री–बजेट, पूरक बजेट, लेखा तथा लेखापरीक्षणलगायतका विभिन्न विषयमा माथि उल्लिखित निकायहरूलाई समयसमयमा राय, सल्लाह, सुझाव प्रदान गर्दै आइरहेको छ भने संयुक्त रूपमा सेमिनार, गोष्ठी, तालिमको पनि आयोजना गर्दै आइरहेको छ । साथै, आर्थिक क्षेत्रसँगको कार्ययोजनामा यस संस्थालाई पनि सहभागी गराई राय सुझाव लिने गरिएको छ । यस सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने मैले महसुुस गरेको छु ।

० संस्थाले उत्पादन गरेका चार्टर्ड एकाउन्टेन्टहरूलाई विश्वव्यापी मान्यताका लागि कस्तो प्रयास भइरहेको छ ?

– हरेक देशमा लेखा व्यवसायलाई नियमन गर्ने संस्थाले क–कसलाई मान्यता दिने भनी क्राइटएरिया निर्धारण गरेको हुन्छ । जस्तै, हाम्रो देशमा पनि हामीले सबैलाई मान्यता दिएका छैनौं । मान्यता दिएकाहरूमा पनि उनीहरूले निश्चित प्रक्रिया तथा परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैले, यसलाई एकतर्फी मान्यताभन्दा पनि पारस्परिक मान्यतामा जोड दिएका छौं भने अहिले तुरुन्तै पारस्परिक मान्यता हुन नसक्ने देशका लेखा व्यवसायी संस्थाहरूसँग पनि पारस्परिक सहयोगका लागि मात्र पनि सम्झौता अगाडि बढाएका छौं ।
जस्तो ः मलेसियन इन्स्टिच्युट अफ एकाउन्टेन्ट्स, सीपीए अस्ट्रेलिया तथा बेलायतका चार्टर्ड एकाउन्टेन्ट संस्थाहरूसँग पनि यस्तो खालको सम्झौता भइसकेको छ । जुन हाम्रा लागि महŒवपूर्ण हुने मैले विश्वास लिएको छु । संस्थाले यस वर्ष अन्य विदेशी मुलुकका लेखा व्यवसायी संस्थासँग पनि यस्ता सम्झौता गर्न आवश्यक पहल गरिरहेको छ ।

० भारतीय संस्थालाई दिँदै आएको एकतर्फी मान्यतालाई पुनर्विचार गर्न लागेको कुरा आएको छ नि, वास्तविकता के हो ?

– अहिलेसम्म भारतबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी आउनुभएका महानुभावहरूले संस्थाको सदस्यता लिनका लागि नेपालको कर्पोरेट कानुन र कर विषयको परीक्षा दिनुपर्ने र एक वर्ष संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्यको मातहतमा रही इन्टर्नसिप गर्नुपर्ने व्यवस्था हामीले एकतर्फी रूपमा कायम राख्दै आएका छौं । संस्थाले बारम्बार यसलाई पारस्परिक मान्यता कायम गर्नका लागि पहल गर्दा पनि खासै प्रगति हुन नसकेकाले हामीले यसलाई पुनर्विचार गर्नुपर्छ भन्ने अवस्थामा आइपुगेका छौं । यसतर्फ अहिलेसम्म औपचारिक रूपमा छलफल भएको छैन । तर, अब यसलाई परिषद्मा औपचारिक छलफलमा लैजाने विषयमा सोचिरहेका छौं ।

० अहिले सीए अध्ययनप्रति विद्यार्थीको आकर्षण कस्तो छ ?

– आर्थिक क्षेत्रको विकाससँगै चार्टर्ड एकाउन्टेन्सी शिक्षाप्रति विद्यार्थीहरूको चासो दिन प्रतिदिन बढ्दै गएको अवस्था छ । अहिले उल्लेख्य मात्रामा विद्यार्थी भर्नादरमा वृद्धि हुँदै आएको छ । त्यसैकारणले गर्दा विद्यार्थी वर्गमा अनुशासित र लगनशील भई अध्ययन गरी आफ्नो भविष्य उज्जवल बनाउनतर्फ अगाडि बढ्नुस् भन्न चाहन्छु ।

० वित्तीय प्रणाली कसरी पारदर्शी बनाउन सकिन्छ ?

– वित्तीय प्रणाली पारदर्शी बनाउनका लागि लेखापालन राम्रो हुन जरुरी छ । लेखापालनलाई अन्तराष्ट्रियस्तरको बनाउनका लागि संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) क्रमशः लागू गर्न कार्ययोजना प्रकाशित गरिसकेको छ । केही संस्थामा लागू भइसकेको छ भने केही संस्थामा लागू हुने अवस्थामा रहेको छ । यस्ता मानहरूको अनिवार्य लागूबाट वित्तीय प्रतिवेदन पारदर्शी बनाउन र नेपालको लेखालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु ।