डढेलो नियन्त्रणमा उदासीनता

डढेलो नियन्त्रणमा उदासीनता

sabin-pic

सविन शर्मा

विगतमा जस्तै यस वर्ष पनि मुलुकका विभिन्न भू–भागका वनमा डढेलो लाग्न सुरु भएको छ । तर, निभाउने प्रयास भने उही परम्परागत शैलीबाट माथि उठ्न सकेको छैन । बस्तीनजिकका वनमा डढेलो लाग्दा आप्mनै घरमा आगलागी होला कि भनेर स्थानीयले नियन्त्रण प्रयास गरे पनि बस्तीभन्दा टाढाका वनमा लागेको डढेलो निभाउने प्रयास गरेको पाइँदैन । साना वनमा लागेको डढेलो स्थानीयकै प्रयासमा निभाउन सम्भव भए पनि ठूला वनमा डढेलो लाग्दा स्थानीयको प्रयासले मात्रै काम गर्दैन । त्यसका लागि हरेक जिल्ला सदरमुकाममा कम्तीमा एउटा दमकल हुनैपर्छ । राजधानी काठमाडौंजस्तो जिल्लामा त आवश्यक दमकल छैन भने काठमाडौं बाहिरका जिल्ला सदरमुकाममा दमकल तथा अन्य प्रविधिको अपेक्षा गर्नु बेकार नै होला ।

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ । यसरी, हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । गत वर्ष मात्र करिब १४ लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको, डडेलो नियन्त्रण गर्ने क्रममा करिब २० जना स्थानीयको मृत्यु भएको र १०० भन्दा बढी मानिस घाइते भएका थिए । वनमा लागेको डढेलो मानव बस्तीहरूमा पसेर गुल्मीलगायत जिल्लामा धेरै घर÷गोठ जले । डढेलोले जंगल मात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ । यसरी, डढेलोेका कारण हरेक वर्ष वन, जैविक विविधता र सामाजिक, आर्थिक क्षेत्रमा पुग्ने क्षतिको मूल्यांकन त भएकै छैन ।
डढेलोले वर्षौंदेखि जतन गरी हुर्काएका, संरक्षण गरेका वन मात्र सखाप भएका छैनन्, यसबाट हाम्रा बहुमूल्य जैविक विविधता र सम्पदासमेत खारानी भएका छन् ।
गत वर्षको डढेलो यति भयानक र विध्वंशकारी थियो कि यसले ग्रामीण जनजीवन नै अस्तव्यस्त बनायो । डढेलोले राष्ट्रको सामाजिक, आर्थिक समृृद्धिको अभियानलाई समेत कैयौं वर्षपछाडि धकेल्यो । डढेलोले मच्चाएको हाहाकार स्थानीयदेखि राष्ट्रिय तहसम्मका सञ्चारमाध्यममा सार्वजनिक बहसको विषय बन्यो । जिम्मेवार निकाय भएको नाताले डढेलो नियन्त्रणमा सक्रिय चासो देखाउनुपर्ने वन तथा भूसंरक्षण मन्त्रालयको अलमल, ढिलासुस्ती र निष्क्रियता भने स्वाभाविक थिएन । बरु स्वतः स्फूर्त रूपमा जसरी स्थानीय वन उपभोक्ता समूह, वन प्राविधिक र सुरक्षा निकाय साधनस्रोतको अभाव हँुदाहुँदै पनि डढेलो निभाउन रातदिन खटेको देखियो, त्यो भने सबैका लागि अनुकरणीय थियो ।
वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बने । जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको छ । नेपालको सन्दर्भमा वन डढेलोलाई वन विनाश र क्षयीकरणको प्रमुख कारण मानिएको छ । आजभोलि बनाइने वन वातावरण क्षेत्रका हरेक नीति र रणनीतिलगायत कार्यक्रममा वन डढेलोलाई प्रमुख सवालका रूपमा उल्लेख गरेको पाइन्छ । तर, विडम्बना, जनता र दातृनिकायको आँखामा छारो हाल्न नीति र रणनीति उल्लेख गरे पनि वन डढेलो सरकारको प्राथमिकताको विषय भने कहिल्यै बनेन ।
नेपालकोे मौजुदा कानुनले पनि जथाभावी डढेलो लगाउनुलाई अपराध नै मानेको छ । मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ । त्यस्तै, वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापमा बन्देज लगाई यसलाई कानुनी अपराधका रूपमा लिई सजायको प्रावधान राखिएको छ । वन तथा भूसंरक्षण मन्त्रालयले त वन डढेलो व्यवस्थापन रणनीति, २०६७ नै बनाएको छ । यसरी, कानुनी तथा नीतिगत रूपमा जेजे व्यवस्था गरे पनि यसको कार्यान्वयनमा देखिएको सरकारी उदासीनता र अकर्मण्यताले गर्दा डढेलोका घटना बर्सेनि वृद्धि हुँदै आएको छ । परिणामतः हरेक वर्ष डढेलोबाट राष्ट्रले अपूरणीय क्षति बेहोर्नु परिरहेकै छ । नीतिनियमका कागजी घोडा दौडाएर डढेलो नियन्त्रण नहुने जिम्मेवार निकायले कहिल्यै बुझेनन् ।

गएको एक साताभित्रै ५ सयभन्दा बढी स्थानमा डढेलो लागिसकेका छन् । भर्खर चैत लाग्दै छ । नेपालमा डढेलोको प्रकोप वैशाख र जेठमा सबैभन्दा धेरै हुन्छ । अहिलेको स्थिति देख्दा आगामी दिन थप भयावह नहोला भन्न सकिन्नँ । नेपालमा हरेक वर्ष निकुञ्ज एवं संरक्षित वन क्षेत्रमा बढी डढेलो लाग्ने गर्छ भने मध्यपहाडी क्षेत्रको वनमा हरेक वर्ष डढेलोको प्रकोप बढी हुने गर्छ । यसपालि यति चाँडै यति धेरै वन क्षेत्रमा डढेलो लाग्नुमा पानी कम पर्नु पनि एउटा कारण हो । गत वर्ष एक झर पनि पानी परेन, त्यसकारण पनि धेरै वन क्षेत्र सुख्खा भयो । अर्को कुरा, वनमा डढेलो लगाउनेलाई कानुनी कारबाहीको व्यवस्था भए पनि कानुनको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । कतिपय वन क्षेत्रमा अग्निरेखा बनाउने चलन छ । जहाँ अग्निरेखा बनाइन्छ, ती स्थानमा पनि झार पलाउने र रूखका पात झर्नेलगायत समस्या हुन्छन् । तर, त्यसरी झरेको पात र झाडी सफा गर्ने गरेको पाइँदैन, जसले गर्दा अग्निरेखा मेटिने वा पुरिने हुन्छ ।
विश्वव्यापी रूपमा नै वन डढेलो प्रकोप बढिरहेका सन्दर्भमा नेपालजस्तो सानो देशले यसको प्रकोपबाट बच्न अझ विशेष ध्यान दिनुपर्छ । विगतमा साधन, स्रोत र दक्ष जनशक्तिको समयमै उचित व्यवस्था र परिचालन गर्न नसक्दा डढेलोविरुद्धका अभियान प्रभावकारी हुन नसकेका कुरा मध्यनजर राख्दै वन मन्त्रालयले यस विषयमा समय छँदै मन्थन गर्न सुरु गर्नुपर्छ । डढेलो लागिसकेपछि पानीको कुवा खन्नेजस्तो विगत वर्षहरूका प्रवृत्ति अब दोहोरिनु हँुदैन । एकले अर्कोमाथि दोष थोपरेर मात्रै यो चुनौतीविरुद्ध लड्न सक्दैनौं । तसर्थ सरकार, समुदाय, निजी क्षेत्रलगायत सबै विकासका साझेदार मिलेर वन डढेलोविरुद्ध साझा प्रतिबद्धता, साझा अभियान सञ्चालन गर्नुपर्छ । डढेलोविरुद्धको साझा अभियानमा देशैभर जालोझैं फैलिएका समुदायिक वन उपभोक्ता समूहले महŒवपूर्ण भूमिका खेल्न सक्छन् ।

समुदाय स्तरमा जनचेतनामूलक अभियानका साथै वन डढेलोे विज्ञानसम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी डढेलोविरुद्ध जाइलाग्न सक्ने सचेत प्रतिबद्ध अभियानकर्मीहरू तयार गर्दै आवश्यक पर्ने साधन स्रोतसमेत समयमै योजना र व्यवस्थापन गर्नुपर्छ । तसर्थ हाम्रा प्रयास र साधनस्रोतलाई स्थानीय तहसम्म पु¥याई त्यहीँ केन्द्रित गर्नैपर्छ । वन डढेलोविरुद्ध ज्यान हत्केलामा राखेर लाग्दै आएका समुदाय, वन पेसाकर्मी र सुरक्षा निकायका अभियानकर्मीलाई प्रोत्साहन हुने गरी विशेष राहत व्यवस्था गर्नु आवश्यक छ । सकारात्मक साझा अभियानले साझा शत्रु वन डढेलोको चुनौती सामना गर्न सकिन्छ ।
वन जंगल हाम्रो राष्ट्रको गौरव र हाम्रो जीवनको बाँच्ने आधार हो । वन जंगललाई डढेलोबाट जोगाउनु हामी सबैको नैतिक दायित्व हो । सुख्खा तथा हावाहुरीको मौसममा हामीहरूको सानो लापरबाहीबाट आगोको सानो झिल्कोले वन जंगलमा भीषण डढेलो फैलिन गई वन पैदावार, जडीबुटी र वन्यजन्तुहरूलाई ठूलो क्षति पु¥याउँछ । वन जंगललाई डढेलोबाट जोगाउन निम्न सावधानी अपनाउन सबैको कर्तव्य हो ।

नेपालमा डढेलो स्थायी समस्या हो । डढेलोले वन मात्रै विनाश गर्दैन, जंगलमा बस्ने जनावर तथा अन्य जीवसमेत असुरक्षित हुन्छन् भने कतिपय जीवजन्तु लोप हुने खतरा हुन्छ । अर्को कुरा, हाम्रो सरकार नगरपालिका घोषणा गर्नमा जति हतार गर्छ, आवश्यक पूर्वाधारको विकासमा पटक्कै चासो देखाउँदैन । जहाँ नगरपालिका घोषणा गरिएको छ, ती स्थानमा एउटा मात्रै दमकलको व्यवस्था हुने हो भने पनि सानातिना डढेलो नियन्त्रण गर्न सकिन्छ । डढेलोको मुख्य कारण मानवीय हेलचेक्र्याइँ नै हो । डढेलो मुलुकका लागि घातक हो र यसले जैविकता तथा पर्यावरणमा समेत नकारात्मक असर पार्छ भन्नेमा सचेत हुनैपर्छ । डढेलो नियन्त्रणका निम्ति आवश्यक सावधानी बेलैमा अपनाउन जरुरी छ ।