संवैधानिक रूपले समस्या हल गरौं : उपेन्द्र

राजधानी संवाददाता
रौतहट, ५ चैत
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विधिको शासन र संसदीय प्रक्रियाबाटै समस्याको समाधान चाहेको  बताएका छन् । गौरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । संवैधानिक रूपले समस्या हल गरौं भन्ने फोरमको चाहना भएको स्पष्ट पार्दै उनले संसदीय प्रक्रियाबाटै देशलाई निकास दिन जरुरी भएको बताए । सरकारले समस्या समाधानको बाटो नै बन्द गर्ने हो भने अन्तिम विकल्प संघर्ष भएको बताउँदै उनले भने, ‘मुलुकमा उत्पन्न जटिलताहरूलाई समाधान गर्नुको साटो प्रमुख दलहरूले सत्ता कसरी टिकाउन सकिने भागबन्डाको राजनीतिमा लागेर मुलकलाई संकटको भूमरीमा फसाइरहेका छन् ।’

upendra-yadav
सरकारले स्थानीय तहको निर्वाचन तयारी गरिरहेको प्रति इंगित गर्दै उनले यथास्थितिमा कुनै पनि निर्वाचन हुन नसक्ने बताए । मधेसी जनताको अधिकार सुनिश्चित नभएसम्म देशमा कुनै पनि निर्वाचन हुन नसक्ने र जबर्जस्ती सेना लगाएर पनि निर्वाचन गराउँछु भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । अध्यक्ष यादवले सरकारले सीमांकनको मुद्दालाई थाती राखेर देशको समस्या हल नहुने र मूल कुरा भनेकै संघीयता अनि सिमानाको भएकाले पहिले यिनै कुराको सम्बोधन गर्न जरुरी रहेको बताए । पछिल्लोपटक पनि सरकारले आफ्ना मागहरू पूरा गर्ने आश्वासन दिएको र सोहीअनुसार आफूहरूले पनि केही व्यक्तिलाई बुँदागत रूपमा कुरा गर्न पठाएको उनले बताए ।