सुर्खेतमा एमालेको शक्ति प्रदर्शन, समृद्ध प्रदेश बनाउने खाका सार्वजनिक

दीपक बुढा / राजधानी

सुर्खेत, ५ चैत

एमालेले शनिबार वीरेन्द्रनगरमा विशाल सभा गरेको छ । प्रदेश–६ का १० जिल्लामध्ये सुर्खेत, दैलेख, सल्यान, कालिकोट जिल्लाबाट हजारौंको संख्यामा आएका कार्यकर्ताहरूले खचाखच भएको खुलामञ्चबाटै एमाले नेताहरूले प्रदेश लडेर बनाएको भन्दै यो प्रदेशको समुन्नति पनि एमालेले मात्रै गर्न सक्ने र त्यसको स्पष्ट खाका एमालेले बनाइसकेको उद्घोष गरे । भैरहवापछिको बृहत् सभाको रूपमा लिँदै एमाले नेताहरूले उपस्थित जनताहरूलाई समुन्नत नेपाल बनाउन चाहनेहरूको उल्लासमय सहभागिताका रूपमा अथ्र्याएका थिए ।

surkhet1

प्रारम्भिक घोषणापत्र सार्वजनिक

एमाले नेता तथा पोलिटब्युरो सदस्य यमलाल कँडेलले सञ्चालन गरेको उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. ६ को समृद्विको आधार नामक प्रारम्भिक घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । उक्त घोषणापत्रमा एमालेले समृद्व प्रदेश बनाउने योजनाहरूको विस्तृत विवरण समेटेको छ । उक्त घोषणापत्र एमाले प्रदेश कमिटीले तयार गरेको हो ।

कांग्रेसले जनता देख्दैन :  ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनता नदेख्ने दाबी गरेका छन् । उनले सभालाई सम्बोधन गर्दै करोडौं नेपाली जनताले चाहेको जस्तो उसले कहिल्यै काम नगर्ने बरु चारजना मधेसी दलका जमिन्दारका नेताहरूका मात्रै कुरा सुनेर देशलाई विखण्डन गर्न अहोरात्र मेहनत गरिरहेको बताए । नेता ओलीले पटक–पटक बहुमत ल्याए पनि कांग्रेसले आम जनताका पक्षमा कुनै काम नगरेको भन्दै कांग्रेसीलाई जनताको पक्षमा काम गर्न फुर्सद नभएको बताए । उनले भने, ‘कांग्रेस जनताको पक्षमा हुने काम कहिल्यै गर्दैन, ऊ त केही विदेशी शक्तिहरूको भरिया बनेर देश र जनतामाथि रजाइँ गर्न चाहन्छ ।’

एमाले अध्यक्ष ओलीले आफू सरकारमा आउनुपूर्व नै भारतले नाकाबन्दी लगाएको स्मरण गर्दै भने, ‘नाकाबन्दीको कडा रूपमा सामना गर्ने, भारत र चीनको भ्रमण गरी जनताले देख्नेगरी सम्झौता गर्ने र देशको स्वाभिमानलाई उँचो बनाउने कार्य एमालेले मात्रै गर्न सकेको हो ।’

संविधानसभामार्फत जनताले संविधान प्राप्त गरेको भन्दै जनताले बलिदान गरेर प्राप्त भएका सबै उपलब्धिलाई सुरक्षा गर्दै संविधान कार्यान्वयनको विकल्प नभएको उनको भनाइ थियो । अध्यक्ष ओलीले भने, ‘७ माघसम्म तीनै तहका चुनाव सम्पन्न गर्न नसके लडेर ल्याएका अधिकारहरू त्यसै हराएर जानेछन् ।’ उनले निर्वाचन गराउन नसक्ने भए सत्ता छाड्न आग्रह पनि गरे ।

समृद्ध प्रदेश बनाइने

अध्यक्ष ओलीले एमालेको सपना भनेकै सबल नेपाल निर्माण गर्ने, विकसित नेपाल बनाउने रहेको बताए । उनले ६ नं. प्रदेशका हिमाली जिल्लामा स्याउ खेती, विभिन्न जडीबुटीहरूको प्रयोग, परीक्षण र प्रशोधन गर्ने, हिमाली क्षेत्रमा उनको उत्पादन बढाउने, बिजुली निकाल्ने, आधुनिक सहरहरूको निर्माण गर्ने, कोहलपुर–सुर्खेत सडकको स्तरोन्नति गर्ने, सुर्खेतमा मेडिकल कलेजको स्थापना गर्ने, उत्तरी सिमाना नाग्चेनाग्लालाई बाह्रै महिना खुल्ने नाकाका रूपमा विकास गर्ने, रारातालसम्म जाने दुई लेनको सडक निर्माण गरी स्तरीय बनाउँदै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई थप सबल बनाउँदै लैजानेलगायतका थुप्रै योजना एमालेले सुरु गरेको बताए ।

उनले कृषि क्षेत्रमा आधुनिकीकरण, पकेट क्षेत्र, सुपर जोनलगायतका कार्यक्रमहरू पनि एमालेले घोषणा गरी कार्यान्वयनमा गएको बताए । एमाले अध्यक्ष ओलीले सुर्खेत उपत्यकाको चक्रपथदेखि हरेक विकासमा एमालेले खेलेको भूमिकाका बारेमा खुलस्त पारे । उनले विकासको बाहकका रूपमा एमाले आएको भन्दै अब एमालेको सरकार नभए पनि विकास हुने क्रम नरोकिने कारण एमालेले स्पष्ट योजना बनाई कार्यान्वयन गरिसकेको जनाए ।

माओवादी देशभक्त होइन :  नेता नेपाल

सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै नेपालीको रगतमा राष्ट्रभक्तिपूर्ण रगत बग्नुपर्ने बताए । हाल मधेसी मोर्चाले अनावश्यक आन्दोलन गर्ने गरेको प्रति लक्षित गर्दै नेता नेपालले एमालेकै कारण पूर्वराष्ट्रपति, उपराष्ट्रपति मधेसले पाएको हुँदा मोर्चाले धन्यवाद दिनुपर्ने तर्क गरे । विदेशी शक्तिका सामु लम्पसार पर्ने, एक बोल्ने अर्को काम गर्ने, बोलीमा एकरूपता कायम गर्न नसक्ने भन्दै नेता नेपालले माओवादी केन्द्रको कडा आलोचना गरे । उनले जनताका पक्षमा, देशका पक्षमा काम गर्न सके मात्रै जनताले विश्वास गर्ने भन्दै अब माओवादीको जनताले कहिल्यै विश्वास नगर्ने दाबी गरे । कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको गोलीले एक निहत्था नागरिकको ज्यान जाँदासमेत चुँ गरेर बोल्न नसक्ने माओवादी सच्चा देशभक्त हुनै नसक्ने उनको भनाइ थियो । एमाले महासचिव ईश्वर पोखरेलले संविधानमार्फत थुप्रै अधिकार प्राप्ति गरेको भन्दै ती अधिकारलाई सुरक्षित राख्न सबैको खबरदारी आवश्यक रहेको बताए । सोही खबरदारीका लागि एमाले मेची–महाकाली अभियानमार्फत गाउँ पसेको उनको भनाइ थियो । वर्तमान सरकार भरियाहरूको भएको टिप्पणी गर्दै नेता पोखरेलले भरियाले मालिकले भनेको ठाउँसम्मै सामान लैजानुपर्ने हुँदा वर्तमान सरकार दक्षिणतिरको भरियाको रूपमा उदाएको आरोप लगाए ।

२ हजार बढी एमाले प्रवेश

वीरेन्द्रनगरमा सम्पन्न भएको एमाले बृहत् सभामा हजारौं अन्य पार्टीका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् । दैलेखबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर चन्दको नेतृत्वमा ५ सय ७० जना नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् भने सुर्खेतसहित अन्य सबै जिल्लाबाट करिब २ हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।