राजनीतिक घटनाक्रमको सँगालो ‘नलेखिएको इतिहास’

राजनीतिक घटनाक्रमको सँगालो ‘नलेखिएको इतिहास’

mainali

श्यामप्रसाद मैनाली

यत्तिखेर दरबारका सचिव, सेनाका प्रमुख, पत्रकार, साहित्यकार, कलाकार, कर्मचारी सबैले आङ्खनो जीवनीमा आधारित पुस्तक अथवा आत्मकथा या अनुभवहरूको सँगालो प्रकाशन गर्ने गतिले तीव्रता पाएको छ । साहित्यकार स्वर्गीय जगदीश घिमिरेको अन्तर्मनको यात्रा र विभिन्न लेखकहरूको जस्तै चिना हराएको मान्छे, प्रयोगशाला, मैले देखेको दरबारदेखि रुक्मांगद कटुवालजीको अहम् भावयुक्त पुस्तकहरूले बजार पाइराखेको छ । थोरै मात्र पुस्तकहरू पढिसक्दा पछुतो नलाग्ने प्रकारका छन् । यसमा कुन किताब कस्ता थिए भन्दा लेखकहरूको प्रयासमाथि अन्याय गरेको देखिने भएकाले पुस्तकहरूको समालोचना नगरी यसको मूल्यांकन पाठक स्वयम्ले गर्ने भएकाले आजको यस आलेखमा हालै बजारमा आएको नयाँ पुस्तक वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीद्वारा लिखित  ‘नलेखिएको इतिहासका’ बारेमा कलम चलाउने प्रयास गरेको छु । मैनालीजीको व्यक्तिगत र राजनीतिक जीवनी, विभिन्न राजनीतिक दलहरूका नेतृत्व पंक्तिमा रहेकाहरूको राजनीतिक शैली, नेपालको राजनीतिमा परिराखेको विदेशी प्रभाव, २१सौं शताब्दीमा तत्कालीन राजा ज्ञानेन्द्र पथको अवलम्बन गर्दै चलाएको एकतन्त्रीय शासन, आफ्ना राजनीतिक जीवनका सफलता, असफलता र गल्तीहरू सबैलाई समेटिएर लेखेको पुस्तक हो ‘नलेखिएको इतिहास’, जसका बारेमा कलम चलाउन सगोत्री बन्धुका नाताले कठिनाइ परे पनि अग्रज लेखकसँग राजनीतिक आस्था र सिद्धान्तका सम्बन्धमा कहिल्यै एकै ठाउँमा उभिन नसक्ने व्यक्तिका नाताले विनापूर्वाग्रह यस किताबको सम्बन्धमा आफूले ग्रहण गरेका विषयवस्तु पाठकसमक्ष पस्किन सक्ने विश्वासका साथ केही शब्दहरू प्रस्तुत गर्ने प्रयास गरको छु ।

हामी मैनालीहरूको ऐतिहासिक थलो कुमाउगढ मोनाली र नेपालको मूल थलो कानपुर (काभ्रे जिल्ला) मा पर्दछ । वंशावली अनुसार कानपुरको तिमालबाट पूर्वको तेह्रथुमको चुहानडाँडा हुँदै चाकपुरे भोगटेमा विश्राम लिँदै केही मैनालीहरू झापाको समथर भूमिमा भविष्यको खोजी गर्दै पुगेछन् । लेखकका हजुरबुबा भगीरथ वि.सं. १९६० तिर तेह्रथुम पुगी उनका पिता धनपति आसामबाट ठेक्कापट्टा मार्फत केही अर्थोपार्जन गरी झापामा मौजा जोडन सफल भएछन् जसलाई आर केलगायत केही वामपन्थीतर्फ झुकाव भएका युवाहरूले माक्र्सवाद र लेनिनवादको अनुसरण गर्दै वामपन्थी आन्दोलन गर्न पुगे । यसैको हर्ताकर्ता, संस्थापक तथा प्रथम केन्द्रीय सचिवको हैसियतमा राजनीतिक यात्रा प्रारम्भ गरेका थिए राधाकृष्ण मैनालीजीले । वामपन्थी आन्दोलनलाई उचाइमा पु¥याउने क्रममा लेखकले लामो समयसम्म कारावासको सजाय त्यो पनि पेरुंगामा रहनु परेको यथार्थदेखि माले, एमाले, २०३६ साल, २०४६ सालको घटनाक्रम हुँदै आफैंले उचाइमा पु¥याएको राजनीतिक दलबाटै निष्कासन भएको तत्पश्चात् राजा ज्ञानेन्द्रको निरंकुश शासनबाट सञ्चालित सरकारमा शिक्षामन्त्री हुँदै राजनीतिक जीवनको प्रायः पटाक्षेप गर्न पुग्नु भएका मैनालीजीले यस पुस्तकमा यथार्थ र तथ्यपरक दृष्टान्तहरू समेत राखी नेपालको राजनीतिक क्षेत्रको जिज्ञासा राख्नेहरूका लागि इमानदारिताका साथ पर्याप्त खुराक पस्किदिएका छन् । उनले आफ्नो पुस्तकमा पटकपटक गल्ती स्वीकार गरेकाले पनि उनको इमानदारिताको थप पुष्ट्याइँ भएको छ । यद्यपि नेपालका बुद्धिजीवीहरूमध्ये ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहभागिता दिएपश्चात् उनको अत्यन्त कडा रूपमा निन्दा गर्नेहरूसमेत नभएका होइनन् । स्तम्भकार पनि लेखकले ज्ञानेन्द्र सरकारमा सामेल हुनु भनेको राजनीतिक रूपमा आत्महत्या नै हो भन्ने निष्कर्षमा पुग्दापुग्दै पनि नलेखिएको इतिहासबाट लेखकले के कस्ता मुख्यमुख्य विषय नेपाली पाठकहरूलाई दिन खोजेका हुन् त्यसको निष्पक्ष विश्लेषण गर्ने अभिप्रायले यो सानो लेख तयार पारिएको छ ।

राधाकृष्णजी वामपन्थी नेता, वामपन्थी आन्दोलनमा लागेबापत लामो समयसम्म कारावासको सजाय पाएका, प्रजातन्त्रको पक्षपाती, नेपाली कांग्रेसलाई बुर्जुवा, सामन्तीका दृष्टिले हेर्ने वामपन्थीहरू, तर राधाकृष्णजीले यस पुस्तकका विभिन्न प्रकरणहरूमा नेपालको प्रजातन्त्र बहाली र पुनर्बहालीमा नेपाली कांग्रेसको सक्रिय भूमिकालाई सहर्ष स्वीकार गरेका छन् । सुखानीको जंगलमा हत्या गरिएका वामपन्थी युवाहरूको बारेमा पुस्तक लेख्नुपर्ने उहाँको राजनीतिक धर्म हुनेमा ‘लुटिएका दुई थुँगा फूल’ मार्फत् जसमा शहीद यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई निरंकुश राजसंस्थाले दिएको तनाव, पीडा र उनीहरूको हत्याको विषयमा लेख्न पुगेका छन् । जेलमा रहँदा किसुनजीको कूटनीतिज्ञ प्रतिभा र शेरबहादुरजीको खुला दिल एवम् चौडा छातीका कारण उनीहरूको प्रशंसा गर्न हिचकिचाएका छैनन् । स्वर्गीय महेन्द्रनारायण निधिजीले केन्द्रीय कारागारमा रहँदा भारतका महात्मा गान्धीभन्दा चीनका माओत्सेतुङ सफल राजनीतिज्ञ भएको भनाइ राख्दा कांग्रेसी जनहरूको चित्त बुझेनछ । यस तर्कको विरोध हुन थालेछ, निधिजीका अनुसार गान्धीले भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गरे तर देशको मुहार फेर्न विकास निर्माणको नेतृत्व कहिल्यै गरेनन्, पाकिस्तान हिन्दूस्थानबाट अलग भयो रोक्न सकेनन्, आफू नै मारिए, बाँचेको भए पनि प्रधानमन्त्री बन्ने सोच उनमा थिएन, त्यसैले जीवनको उत्तरार्धमा सफल नेतृत्वकर्ता बन्न सकेनन् । तर, माओले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै सफल भएपश्चात् आफैं अध्यक्ष बनी चीनको विकास निर्माणको नेतृत्व गरे, त्यसैले उनी सफल भए भन्ने उनको तर्क रहेछ । निधिजीकै सम्बन्धमा अर्को प्रसंग पनि उल्लेख गरेका छन् ।

rk-e1485939279873

१६ वर्ष कारावास, केही वर्ष पेरुंगामा यातना पाएका राधाकृष्णले धेरै आरोह र अवरोह पूरा गरेका छन्। राजनीतिक यात्रालाई प्रायः विसर्जन गरेका छन् तथापि उनी राजनीतिक व्यक्ति अवश्य हुन्। त्यसैले ‘नलेखिएको इतिहास’ले उनलाई थप जीवन्तता प्रदान गर्दछ ।

उन(आरके) का पिताजीको र निधिजीको बोलाइ, शारीरिक बनावट प्रायः मिल्दथ्यो , त्यसैले उनी निधिजीलाई नुहाउँदा माडिदिनेलगायत सेवा गर्दा रहेछन् जसबाट आफ्नै पिताजीको सेवा गरेको अनुभूति उनलाई हुँदोरहेछ । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुरजीलाई अत्यन्त उदार, साथीहरूसँग धेरै मिलनसार भनेका छन् । संयोग नै भन्नु पर्दछ यसपटकको उक्त दलको निर्वाचनमा जनमानसमा अत्यन्त शंकुचित छवि बनाएका रामचन्द्रजीसँग उदार र चौडा छाती भएका सबैलाई समेट्न सक्ने शेरबहादुरजीको प्रतिस्पर्धा खासै कठिन भएन । शेरबहादुरजी निर्वाचित हुनुभयो । यो भन्दा अघि बढेर लेखकले देशमा प्रजातन्त्रको पुनर्बहालीको आन्दोलनमा स्वर्गीय गणेशमानजीको त्याग र सहयोग एवम् समन्वयात्मक भूमिकासहितको सफल नेतृत्वको मुग्धकण्ठले प्रशंसा गरेका छन् । स्वर्गीय बीपी कोइराला वामपन्थीसँग मेलमिलाप गरी संयुक्त आन्दोलनको पक्षमा कहिल्यै प्रस्तुत भएनन् । साम्यवादीहरू र प्रजातन्त्रवादीहरूको गन्तव्य असमान छ । यी दुई राजनीतिक शक्तिलाई नदीका दुई किनाराका रूपमा दृढताका साथ आङ्खना अभिव्यक्तिहरू दिने गर्नुहुन्थ्यो । उनको जीवनभर साम्यवादीहरू र प्रजातन्त्रवादीहरू जनताको अधिकारका लागि एकै ठाउँमा उभिने परिस्थिति बन्न सकेन ।

अन्तराष्ट्रिय  परिस्थिति सकारात्मक बनेको अवस्थामा लेखकले गणेशमानजीलाई वामपन्थीहरूसँग मिलेर पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त आन्दोलन गर्न राखेको प्रस्ताव सहर्ष स्वीकार गर्न पुगे । २०४६ सालको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा दरबारले चलाखीका साथ दलमाथिको प्रतिबन्ध मात्र हटाउने सर्तमा राजासँग समझदारी गर्न किसुनजी र गिरिजाबाबु तयार बनाए पश्चात् राधाकृष्णजी लगायत केही वामपन्थीहरूले अस्पतालको बेडमा रहेका गणेशमानजीलाई भेटी परिस्थिति अवगत गराई पञ्चायती व्यवस्थाका सम्पूर्ण संयन्त्रहरू समूल नष्ट गर्नु पर्ने सल्लाह दिँदा गणेशमानजीले सहमति जनाई किसुनजी र गिरिजाबाबु दुवैलाई सोहीअनुसार आन्दोलन अघि बढाउन र दरबारसँग वार्ता गर्न सुझाउनु भएछ, तत्पश्चात् देशले निरंकुश पञ्चायती शासनबाट उन्मुक्ति पाएको बताएका छन् । प्रधानमन्त्री बन्ने प्रस्ताव दरबारले गर्दा नेपाली कांग्रेसलाई आफू प्रधानमन्त्री बने पश्चात् एक बनाई लैजान कठिनाइ पर्ने र परिणामस्वरूप नेपालमा संविधान बन्न नसक्ने भएकाले आफू प्रम नबन्ने अभिव्यक्ति दिइ यति ठूलो योगदान राष्ट्रका लागि गणेशमानजीले गर्नुभएको संस्मरण गर्नुभएको छ । यसले नेपाली राजनीतिज्ञहरू मात्रै होइन विश्व भरका पाइने बिरलै निःस्वार्थ राजनीतिज्ञका रूपमा गणेशमानजी रहनुभएको यथार्थलाई लेखकले स्वीकार एवम् थप पुस्ट्याइँ गर्नु भएको छ । पञ्चायती व्यवस्थालाई समाप्त पारी सकेपश्चात् जनउभारदेखि हौसिएका राधाकृष्णजी सहितका वामपन्थीहरूले संविधानसभाको माग गर्दै आन्दोलनलाई निरन्तरता दिन पुनः गणेशमानजीसमक्ष पुग्दा गणेशमानजीले योगप्रसादजीको निवासमा भएको समझदारीबाट तलमाथि गर्न नहुने गरी वामपन्थीहरूलाई सम्झाई राजनीतिक इमानदारिताको पाठ पढाइरहेको उल्लेख गरेको पाइन्छ । यसबाट गणेशमानजी हालसम्मका नेपाली राजनीतिज्ञहरूमा अब्बल दर्जामा स्थापित भएको सुन्दर पक्षलाई लेखकले उजागर गरिदिएका छन् । एउटा वामपन्थी नेताले राजनीतिक रूपमा आफ्नो प्रतिस्पर्धी दलका नेताहरूको प्रशंसा गर्दै आफ्नै दलका नेतृत्वमा रहेका व्यक्तित्वहरूको कमीकमजोरीलाई नंग्याइदिएका छन् । यो उहाँको ठूलै साहसिक कदम मान्नु पर्दछ ।

राधाकृष्णजी निरंकुश राजा ज्ञानेन्द्रको मन्त्री बन्नुभयो । उहाँको जीवनमा सबैभन्दा ठूलो राजनीतिक गल्ती र वामपन्थी सिद्धान्त र आस्थामाथिको वज्रपात योभन्दा ठूलो अरू केही हुनै सक्तैन । यो कदमले उहाँलाई राजनीतिक रूपमा रसातलमा पु¥याएकै छ । तर, त्यस समयका शासनशैलीबारे रमाइला, चाखलाग्दा घटनाक्रमहरूको उल्लेख गरेका छन् । जस्तै मन्त्रीहरूलाई चाटुकार मात्रै सम्झने, तल्लो स्तरको चाकरी (रमेशनाथ प्रवृत्ति) लाई मन पराउने, आफ्नो हैसियत र स्तर राख्न नसक्ने, कुनै पनि विषयमा निर्णय नदिने, मौन बस्ने, विकास निर्माणका विषयमा चासो नदिने, तुलसी गिरीलाई प्रधानमन्त्री बनाउन शरदचन्द शाहमार्फत झिकाई नेपाल आएपश्चात् सेनाका उच्चपदस्थ अधिकृत र चाटुकारको परामर्शमा आफैं प्रम बनी राजनीतिक बेइमानी गर्ने, मानिसको क्षमताभन्दा लोयल्टीलाई प्राथमिकतामा राख्ने, अराजनीतिक जत्थासँग नजिक हुने, धामीझाक्री ज्योतिषीलाई धेरै विश्वास गर्ने, तुलसी गिरीका शब्दमा ‘हीनताबोधले आक्रान्त भएका महŒवाकांक्षी व्यक्ति’, बुद्धिमान, शूरवीर, पराक्रमी सम्राटबाट सम्बोधित हुन मन पराउने, मण्डले प्रवृत्तिलाई मात्रै रुचाउने जस्ता दुर्गुणहरूले ओतप्रोत भएका थिए राजा ज्ञानेन्द्र । उनलाई राजतन्त्रको सुरक्षा गर्ने अवसर थुप्रै मिलेको थियो । प्रचण्डहरूले सरकारमा जान लालायित हुँदै चीनलाई राजतन्त्र यथावत् राख्ने गरी सम्झौता गर्न मध्यस्थता गरिदिन आग्रह गरेका थिए । युनेस्कोको पेरिस सम्मेलनमा भारतीय वरिष्ठ मन्त्री अर्जुन सिंहले निरंकुश राजाको नेतृत्वको मन्त्रीमण्डलमा किन गएको ? प्रश्न लेखकलाई गरेका थिए । राधाकृष्णजीले द्वन्द्व समाधान गरेपश्चात् दलहरूलाई सत्ता फर्काउने सोच ज्ञानेन्द्रको भएकोमा विश्वस्त तुल्याएपश्चात् भारत सहयोग गर्न तत्पर भई कूटनीतिक माध्यमबाट यसलाई अघि बढाउने समझदारी भएको थियो । लेखकले पटकपटक नेपाली कांग्रेस वा भारतसँग वार्ता गर्न सुझाएका थिए । यी सबै महŒवपूर्ण अवसरहरूलाई सहजै अस्वीकार गर्दै ज्ञानेन्द्र अघि बढे । २००८ सालदेखि राजतन्त्र समाप्त पार्न दलहरू र राजाबीच फाटो ल्याइदिने भारतीय षड्यन्त्रलाई सहयोगको अर्थमा हेरे । नेपाली कांग्रेस र माओवादीलाई दमन गरेरै समाधानमा पुग्ने र आफू अकण्टक निरंकुश शासक बनिरहने दिवास्वप्न देखे । दरबारको धर्मपुत्र तत्कालीन सेनाप्रमुख आफ्नै खिलाफमा बिकिसकेकोसम्म हेक्का राख्न सकेनन् । यी सबै कारणहरूले गर्दा सुनिएर रोगग्रस्त भइसकेका ज्ञानेन्द्रले आफूलाई शक्तिमान राजा सोचे जुन उनको ठूलो भ्रम मात्र थियो । एकै पटक राजतन्त्र समाप्त हुने अवस्थामा मात्रै यिनको चेत खुलेको खुलासा तिनै ज्ञानेन्द्रका तत्कालीन मन्त्रीका हैसियतले लेखकले छर्लंग पारेका छन् । यस स्तम्भकारको विचारमा ज्ञानेन्द्रले आफ्नो शासनकालमा संक्षिप्त रूपमा भन्नु पर्दा कलाविनाको नाटक खुबै मञ्चन गरे । यस निष्कर्षका साथ केही लेखहरू यसपूर्व प्रकाशित गरी पनि सकिएकोमा राधाकृष्णजीको किताबबाट थप पुस्ट्याइँ र जानकारी मिल्न पुगेको छ ।

पुस्तकका लेखकले ज्ञानेन्द्र सरकारको मन्त्री बनी गल्ती गरेकै हुन्, यसलाई एकपटक विस्मरण गरेर हेर्ने हो भने ‘नलेखिएको इतिहास’ले धेरै प्रकारका महŒवपूर्ण राजनीतिक सूचनाहरू प्रवाह गरेको छ । एक पटक हेर्नैपर्ने पुस्तकका रूपमा स्तम्भकारले निष्कर्ष निकालेको छ । अन्य आत्मवृत्तान्त जस्तो आत्मरतिमा रमाएर पुस्तकका पानाहरू रंगिएका छैनन् । यसको विपरीत आफ्नो उत्तराद्र्धको राजनीतिक निर्णयप्रति आत्म–आलोचनाले धेरै स्थान पाएको छ । किताबको मार्मिक पक्ष लेखकको पारिवारिक र व्यक्तिगत जीवनका सम्बन्धमा पनि पाउन सकिन्छ । एउटा प्रतिनिधि उदाहरणका रूपमा एक मात्र छोरा ६ वर्षका दिनेशले बाबुको अनुहार देखेका रहेनछन् । उनकी आमाले तिम्रो बाबाको हाथको बुढी आंैलामा गाँठो छ भनेपछि बालमस्तिष्क त्यही आधारमा आफ्नो पिताजीको पहिचान गर्ने निश्चयमा पुगेछन् । भाइका साथ लागेर दसैंमा पिताजी भेट्न आएको छोरालाई लेखकले चिनेनन्, भाइले यी बाबुलाई चिन्नु भो भन्दा भान्जा भनिदिएछन, यसबाट बाबुको औंला छामेर बसिराखेको बालक रुन थालेछन् । सोह्र वर्ष कारावास, केही वर्ष पेरुंगामा यातना पाएका राधाकृष्णले धेरै आरोह र अवरोह पूरा गरेका छन् । राजनीतिक यात्रालाई प्रायः विसर्जन गरेका छन् तथापि उनी राजनीतिक व्यक्ति अवश्य हुन् । त्यसैले ‘नलेखिएको इतिहास’ले उनलाई थप जीवन्तता प्रदान गर्दछ भन्ने मेरो थप निष्कर्ष रहेको छ ।