सुखीपुर नगरका कार्यालयमा ताला

राजधानी संवाददाता

सिरहा, ६ चैत

स्थानीय तह पुनःसंरचनाको क्रममा सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाएको विरोधमा साविक सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले आइतबार सुखीपुर नगरका सबै सरकारी कार्यालय तथा वित्तीय संस्थामा ताला  लगाइदिएका छन् ।

सरकारले स्थानीय तह पुनःसंरचनाको क्रममा सुखीपुर नपालाई गाउँपालिकामा परिवर्तन गरेको भन्दै नगरपालिका नै कायम गर्नुपर्ने माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

सरकारी निर्णय अमान्य भएका भन्दै विरोधका कार्यक्रम गरे पनि सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले थप दबाब दिन सुखीपुर नगरस्थित एक दर्जनभन्दा बढी सरकारी कार्यालय तथा वित्तीय संस्थामा अनिश्चितकालीन ताला लगाएका हुन् ।

संघर्ष समिति सुखीपुरले गएको नौ दिनदेखि सुखीपुर गाउँपालिका (साविक सुखीपुर नगरपालिका) मा ताला लगाएको छ भने आइतबार सबै कार्यालयमा ताला लगाई विरोध जनाएको समितिका संयोजक बीपी भुवन यादवले बताए ।