पर्यटन रोयल्टीबाट सडक निर्माण

सोलुखुम्बु / रास– जिल्लाको दुर्गम क्षेत्रको रूपमा  चिनिने गुदेलका नागरिक पर्यटनको रोयल्टीबापत संकलन भएको रकमबाट सडक निर्माण गर्न जुटेका छन् । कुटो र कोदालोको भरमा स्थानीयले सो मार्ग निर्माण गरिरहेका छन् ।

gudel-road-photo

छिमेकी जिल्ला भोजपुरको दोभानेसम्म सडक आइपुगेको र सदरमुकाम सल्लेरीसँग जोडिने सडक पनि सोताङ गाउँपालिकासम्म पुगिसकेको हुनाले साविकको गुदेल गाविस (हाल महाकुलुङ गाउँपालिका) का नागरिक उत्साहित हुँदै आफैं सडक निर्माणमा जुटेका हुन् ।

मध्यपहाडी लोगमार्ग सडक भोजपुरको दोभाने हँुदै सोलुखुम्बु र भोजपुरको सिमानामा पर्ने साल्पासम्म भोजपुर जिल्लाले सडकको ट्र्याक खोल्ने भएपछि गुदेलवासी पनि गाउँदेखि साल्पासम्मको सडक निर्माणमा गत वर्षदेखि जुटेका हुन् ।

गत वर्ष मात्र गुदेलको टिउँमा ८ सय २० मिटर ट्र्याक निर्माण गरिसकेका छन् भने यस वर्ष सोही स्थानबाट ५ सय २० मिटर सडक खन्ने योजना रहेको कुलुपोङखुडाँडा, बाक्खा, टिउ, निमचोला गुदेल मावि सडक निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष नारद कुलुङले बताए । सो सडक निर्माणका लागि २०७१ मा नै पर्यटन रोयल्टीमार्फत १५ लाख रुपैयाँ रकम विनियोजन भएको उनले बताए । सो कामका लागि हाल अहिले दैनिक १ सय २० भन्दा बढी स्थानीय जुटेका छन् ।

सदरमुकाम सल्लेरीलाई धेरैपहिले नै सडक सञ्जालले छोए पनि यातायात सुविधाको अभावमा गुदेलवासीलाई भोजपुर र संखुवासभाबाट आउने उपभोग्य वस्तु सस्तो र सुलभ मूल्यमा उपभोग गर्न पाइने स्थानीय पर्वत कुलुङले बताए ।

सो सडक निर्माणका लागि एस्काभेटरलगायत औजारहरू प्रयोग गर्न पाएको भए सो सडक धेरै अघि बनिसक्ने बताउँदै उनले भने, ‘सडक बनाउन प्रयोग गरिने यन्त्रहरूको अभावमा स्थानीयले कुटो र कोदालोकै भरमा सडक खन्दै छन् ।’