निर्वाचन गर्न सरकार दह्रो हुनुपर्छ : ओली

राजधानी संवाददाता

नेपालगन्ज, ६ चैत

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सरकार दह्रो भएर उभिनुको विकल्प नभएको बताएका छन् ।

एमाले बाँके प्रचार विभागले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अरू कसैको कुरा सुनेर संविधान कार्यान्वयन र निर्वाचन गराउने विषयमा सरकारले खुट्टा कमाए कडा प्रतिवाद गर्ने चेतावनी दिँदै उनले भने, ‘अरूकै इसारामा चल्दै आएको सरकारले निर्वाचनका लागि खुट्टा कमाउने धेरै ठाउँ छन्, कुनै पनि बहानामा निर्वाचन टार्ने वा सार्ने षड्यन्त्र भए पार्टी कडा प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

img_2935-rajdhani

अध्यक्ष ओलीले राजनीतिको नाममा केही व्यक्तिको छुद्र स्वार्थ पूरा गर्न नसकिने बताउँदै उनले भने, ‘राजनीतिको आडमा आफ्नो छुद्र स्वार्थ पूरा गर्नका लागि अराजनीतिक, हिंसात्मक, अराजक र अनुचित कार्य हुँदै आएको छ, यस्तो कार्य राजनीतिमा कहीँकतै देख्न नपाइएको तर नेपालमा जे पनि देख्न पाइन्छ ।’

मधेसी मोर्चाले एमालेको अभियानमा गरेको अवरोधको बारेमा बोल्दै उनले भने, ‘मधेसी मोर्चाले राजनीतिको नाममा आपराधिक गतिविधि सञ्चालन गर्दै लोकतन्त्रको उपहास गरेको छ । लोकतन्त्रमा हिंसा स्वीकार्य हुँदैन तर, सरकारै लुलो र फितलो भएपछि कसको के लाग्छ र ?’ उनले राजनीतिमा विरोध गर्न पाउने अधिकार सबैको रहेको भए पनि अराजकता र अहिंसा बढाउने, शन्तिपूर्ण भन्दै बम हान्ने अधिकार कसैसँग पनि नभएको उनको तर्क थियो ।

संविधान कार्यान्वयनका लागि एमालेले सञ्चालन गरेको अभियानबाट कसैको टाउको दुखेको भए हाम्रो भन्नु केही छैन भन्दै उनले भने, ‘हामी चाहन्छौं, नेपालमा विकास होस्, स्थायित्व होस् तर केहीलाई हाम्रो अभियान र हामीले ल्याएको कुरा मन परेको छैन, नपरे नपरोस् ।’ उनले पटक–पटक मधेसी मोर्चाले अराजनीतिक गतिविधि सञ्चालन गरेको दाबी गर्दै त्यस्तै अवस्था रहे उनीहरूको जमिनदारी रहे पनि राजनीति भने नरहने स्पष्ट पारे ।

उनले मधेसी मोर्चाका नेतालाई संविधानले जातीय, वर्गीय विभेद नगरेको भन्दै अराजकताको खेती गर्न बन्द गर्न आह्वान गर्दै भने, ‘आफ्नो क्षणिक स्वार्थ छाड्नुहोस् संविधानले विभेद ग¥यो भन्नुहुन्छ के विभेद भयो भन्दा जवाफ छैन, अधिकार पाएनौं भन्नुहुन्छ, के अधिकारबाट वञ्चित हुुनुभयो भन्दा पनि जवाफ छैन । सधैं आफ्नो छुद्र स्वार्थका लागि जनाता भड्काउँदै लडाउने मराउने कार्य अब बन्द हुनुपर्छ ।’

 उनले राष्ट्रियता भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाको लागि बोल्दा आवाज उठाउँदा कसैको मन भतभती पोल्छ भने हामीले के नै गर्न सक्छौं भन्दै प्रतिप्रश्नसमेत गर्दै भने, ‘युरो र डलरमा चल्ने आफूलाई बुद्धिजीवी भन्नेहरू र द्वन्द्वको खेती र पसल चलाउनेहरूको कारणले पनि मुलुकलाई अस्थिरतातिर धकेलिएको छ । एमाले जिम्मेवार पार्टी भएकाले चुप लागेर बस्दैन ।’

  उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको तर्क अघि सार्दै भने, ‘नेपाली जनताले अनुपयुक्त संसद्ले काम गर्र्न सक्दैन भन्ने बुझिसकेका छन् । अबको निर्वाचनपछि जनताले दह्रो जवाफ दिनेछन् । कसैले चुनाव हुन दिन्न भनेर भन्दैमा चुनाव रोकिँदैन र तराईमा जनतालाई केहीकेहीले अलमल्याएको भए पनि त्यसको भ्रम हामी चिर्नेछौं ।’ उनले एनसेलको कर छुट प्रकरण सरकारले कसैलाई पनि दिन नमिल्ने उनको जीकिर गरे ।