सुरु भयो एसियन जोनल चेस

काठमाडौं / रास– एसियन जोनल थ्री–प्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका थिए । एसियन जोनल थ्री–प्वाइन्ट टुका अध्यक्ष राजेशहरि जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतको उपस्थिति थियो ।

2-35

२८ मार्चसम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाका समेत कुल ४२ खेलाडीको सहभागिता रहेको छ । पहिलो चरणमा नेपाली खेलाडीमध्ये सुमित पन्तले सबैभन्दा महŒवपूर्ण जित हात पारे । उनले बंगलादेशी आईएम अबु सफियन सकिल (२३४३) लाई पराजित गरे ।

अन्य शीर्ष खेलाडीले पहिलो चरणमा सफलता पाए । शीर्ष वरीयताका बंगलादेशी जीएम जिआउर रहमानले बद्रीलाल नेपाली, बंगलादेशकै जीएम जीएम अब्दुल्लाह अल रकिबले सजिन महर्जन, जीएम इमानुएल हुसेनले भुपेन्द्र निरौला र जीएम नियाज नुर्सादले नवीन तण्डुकारलाई हराए । एफएम हसन मेहन्दीले रञ्जन कँुवर र एफएफ मुजाफिर सयर रहमानले विवेक श्रेष्ठसँगको खेलमा जित हात पारे । आशिष फुयाँलले श्रीलंकाका कालुगम पिटिया आरएसलाई हराए । मदनकृष्ण कायस्थले मिलन लामा, हिमाल लामाले राजेन्द्र पराजुली, केशव श्रेष्ठले सुमन राई, एफएम मनीष हमालले मोहनसिंह प्रधान, क्षितिज भण्डारीले माल्दिभ्सका अहमद अमान इब्राहिम र रिजेन्द्र राजभण्डारीले मोहम्मद इम्रान खानलाई हराए । अन्य  नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । डब्लुआईएम हमिद रानिस खानसँग शान्ता थापा, डब्लूएफएम नजरान खानसँग सिन्दिरा जोशी, सरिमिन सिमाहा सिमीमीसँग पुनम प्रसाईं र साउमी जैनाबसँग सविना श्रेष्ठ पराजित भए ।