भलिबल खेलाडीको बिदाइ

काठमाडौं / रास– माल्दिभ्सको मालेमा आयोजना हुन लागेको सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ ।

v1-2

बुधबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ । सेटरइम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् । यस्तै, क्विक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी रहेका छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापा मगर छन् ।

टोलीमा चार नयाँ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गर्दै छन् । जसमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आबद्ध छन् । नेपाली टोलीको प्रशिक्षकमा वीरेन्द्र चौधरी तथा सहायक प्रशिक्षकमा जगदीश भट्ट छन् । नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सचिव डम्बरबहादुर  नेपालीले सम्हाल्नेछन् ।