स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’

काठमाडौं / रास– बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’ मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासंग्रह ‘युरेसियाको स्पर्श’ आज सार्वजनिक गरिएको छ ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गर्दै आगामी दिनमा प्रकाशनले बेलायती स्रष्टाका कृति प्रकाशन गर्दै जाने जानकारी दिए । उनले साझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाबाट सहयोगको अपेक्षा पनि गरे ।

नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीका अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका २ सय शीर्षकका ३ हजार थान पुस्तक राखिएका छन् । लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सो सातौं कृति साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जम्बर्गका १७ वटा यात्रानुभूति उक्त पुस्तकमा रहेको साहित्यकार बजगाईंले जानकारी दिए ।