मिस नेवाः पोखरा बनिन् अंशु

पोखरा संवाददाता

पोखरा, ६ चैत

नेवाः खलः कास्कीको आयोजनामा पोखरामा भएको मिस नेवाः पोखरा नेपाल संवत् ११३७ को उपाधि अंशु शाक्यले जितेकी छन् । उनले मिस ट्यालेन्टको उपाधि पनि आफ्नै पोल्टामा पारिन् । पोखरा तेर्सापट्टीकी २० वर्षीया शाक्यले प्रतिस्पर्धाको फाइनलमा निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिँदै १७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधिसहित ४० हजार नगद, सीजी ब्रान्डको ३२ इन्चको एलईडी टिभी पुरस्कार प्राप्त गरिन् ।

miss-newa-073

त्यस्तै, निकिता लिगल फस्र्ट रनरअप हुँदै २५ हजार र प्रार्थना डंगोेल बेस्ट पर्सनालिटीको विषयगत उपाधिसहित सेकेन्ड रनरअप बनिन् । उनले १५ हजार पुरस्कार पाइन् । फाइलिस्टलाई डोकोमा बच्चा बोकेर हिँडिरहेकी महिलाको तस्बिर देखाई उक्त तस्बिरको व्याख्या गर्न लगाइएको थियो । भ्युअर्स च्वाइस अवार्डसहित बेस्ट नेवारी ल्यांग्वेजको विषयगत उपाधि रसना बुद्धाचार्यले जितिन् भने ज्यास्मिन श्रेष्ठले बेस्ट स्माइल, श्रद्धा श्रेष्ठले मोस्ट फ्रेन्डली र सिम्रन श्रेष्ठले मिस फोटोजेनिकको उपाधि जिते । सबटाइटल उपाधि विजेतालाई जनही ५ हजार पुरस्कार दिइयो ।

कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठ, प्रमुख निर्णायक कृष्णमोहन श्रेष्ठ, मिस नेवाः पोखरा ११३६ एलिशा जोशीलगायतले प्रतियोगिता नेवारी भाषा, संस्कृति जगेर्ना गर्दै युवतीको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने बताए । कार्यक्रममा कुमारी नाच, चर्या नाच, धिमे बाजा तथा नेवारी नृत्यसमेत प्रस्तुत गरिएको आयोजक नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।