नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

राजधानी समाचारदाता

काठमाडौं, ६ चैत

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवसीय नेपालीहरू राष्ट्रकै पुँजी भएको भन्दै मन्त्री महतले देशको विकासमा लगानी गर्न आग्रह गरे ।

मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय संघ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति भएको बताए ।

राजनीतिक अस्थिरता, द्वन्द्व एवं अन्य कारणले लाखौं नेपाली बिदेसिन बाध्य भएको बताउँदै अहिले देशमा लगानी गर्ने वातावरण बन्दै गएको बताए । उनीहरूले संसारमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको उल्लेख गरे । उनले भने, ‘तपाईंहरूले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ठ पहिचानका लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन गर्नुहोस् र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।’ नेपालमा अर्काे महिना स्थानीय तहको निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रूपमा रहेका स्थानीय संरचनाहरूमा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाउँबाट सुरु हुन लागेको उनले बताए ।

उनले गैरआवासीय नेपालीलाई नेपालको जलविद्युत्, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि आग्रह गरे । उक्त बैठकमा गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय देशहरू, युरोप र अन्य देशहरूका अगुवाहरूका साथै नेपालका उद्योगी व्यवसायीहरूको पनि सहभागिता रहेको छ ।