निःशुल्क औषधि र उपचार पाएपछि स्थानीय दंग

राजधानी समाचारदाता

नुवाकोट, ६ चैत

नुवाकोटको खडग भञ्ज्याङ गाविस–९ निवासी ९० वर्षीया वृद्ध सुकमाया आइतबार निकै खुसी देखिइन् । आफ्नो गाउँमै महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण भएपछि लामो समयदेखि अप्ठ्यारो महसुस गरिरहेकी वृद्धामा खुसी छाएको हो ।

हिँड्नसमेत नसक्ने उनी लौरो टेकेरै शिविर भइरहेको स्थान बुद्धसिंङ घाटस्थित विद्यालय प्रांगणमा पुगेकी थिइन् । आफन्तको सहारामा आएकी उनलाई गाइनोलोजिस्ट  डा. बालगोबिन्द चौधरीले महिला स्वास्थ्यसम्बन्धी उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरेका हुन् । ‘अस्पतालसम्म जान सक्ने अवस्था थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भनिन् ।

गाउँमा सबैबाट हजुरआमाको उपमा पाएकी उनले निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गर्ने संस्थालाई पनि सधंै यस्तै काम गर्नु भन्दै आशीर्वाद दिइन् ।1743096

गाउँमा उपचार पाउन नसकेका र महिला तथा पुरुषमा प्रजनन स्वास्थ्यका विषयमा निकै कम ज्ञान भएको सूचनाका आधारमा नेपाली महिलाहरूको आवाज नामक संस्थाले आइतबार खडग भञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गरेको थियो । शिविरबाट ४ सय २१ जना लाभान्वित भएको संस्थाकी अध्यक्ष सुमित्रा थापाले जानकारी दिइन् । ‘उपचार पाउन नसकेका र उपचार गर्न नसक्ने महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट अत्यन्त उत्साहित भएका छौं, हामीले सोचेभन्दा बढीले शिविरबाट सेवा पाउनुभयो,’ थापाले भनिन् ।

अध्यक्ष थापाका अनुसार अधिकांश महिलाले प्रजनन स्वास्थ्यबारे जानकारी लिएका छन् भने परीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क दिइएको छ । उपचारका लागि आएका सबैलाई प्रसूति गृहका चिकित्सक चौधरीले परामर्शसहित उपचार गरेका थिए । शिविरका लागि मिडवाइ फ्री सोसाइटी अफ नेपालले निःशुल्क औषधि सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिइन् । उपचारका लागि आएका स्थानीयवासीले पुनः यस्तो कार्यक्रम लिएर आउन आयोजकहरूलाई आग्रह गरेका थिए । प्रजनन स्वास्थ्य शिविर भए पनि गाउँका कतिपय वृद्धहरूसमेत उपचारका लागि आएका थिए । उनीहरूलाई पनि आवश्यक परीक्षणपछि थप उपचारका लागि सिफारिस गरिएको आयोजकको भनाइ छ ।

स्वास्थ्य शिविर सम्पन्न

भैरहवा / रास– सिद्धार्थ लेडिज सर्कल–४, भैरहवाको आयोजनामा लुम्बिनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा लुम्बिनी क्षेत्रसहित वरपरका  विभिन्न उमेर समूहका ४ सय स्थानीयले प्रत्यक्ष लाभ लिएको संस्थाका अध्यक्ष रितु हलवाईले बताइन् । लुम्बिनी क्षेत्र नगरपालिका भए पनि ग्रामीण क्षेत्र बढी भएकाले त्यहाँका महिलाहरूमा ढाड तथा शरीरका विभिन्न अंग दुख्ने, छालाको रोग, बच्चाहरूमा कुपोषण र दाँतमा समस्या देखिएको सर्कलका सचिव आरती अग्रवालले बताइन् ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि आउने सबैलाई निःशुल्क औषधिसहित फलफूल, बिस्कुट दिइएको थियो । सो कार्यक्रममा करिब २ लाख ५० हजारबराबरको औषधि वितरण गरिएको संस्थाले जनाएको छ ।