कर तिर्नेको संख्या वृद्धि

कृष्ण सिग्देल/ राजधानी

सिमरा (बारा), ६ चैत

आन्तरिक राजस्व कार्यालय सिमरा बाराले विभिन्न उद्योग तथा प्रतिष्ठानमा अनुगमनलाई तीव्रता दिएपछि कर तिर्नेको संख्यामा वृद्धि भएको छ ।गत आर्थिक वर्षमा यस कार्यालयमा सदस्यता खासै वृद्धि नभए पनि यस आर्थिक वर्षको फागुन मसान्तसम्म २ हजार ५ सय नयाँ सदस्यले आफ्नो प्रतिष्ठान दर्ता गराएका छन् ।

कार्यालयका प्रमुख रामप्रसाद पाठकका अनुसार यस आर्थिक वर्षमा थप १ हजार नयाँ प्रतिष्ठान दर्ता गरिने लक्ष्य राखिए पनि कडा अनुगमनका कारण कर तिर्नेको संख्यामा उत्साहजनक उपलब्धि हासिल गरेको बताए ।

‘हामीले विशेष गरी उद्योग र अन्तःशुल्कलाई बढी प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘बजार र प्रतिष्ठान दैनिकजसो अनुगमनले सानाठूला व्यवसायी करको दायरामा आएका छन् ।’

यस वर्षको फागुन मसान्तभित्र कार्यालयले २ सय ५६ नयाँ प्रतिष्ठानमा १ सयभन्दा बढी अनुगमन गरी करको दायरामा आउन व्यवसायीलाई आग्रह गरेको प्रमुख पाठकले बताए । उनले ग्रामीण क्षेत्रका कतिपय साना व्यवसायी कार्यालयमा दर्ता भए पनि करको मापदण्ड र विवरण बुझाउन नआउने गरेको गुनासो गरे ।

सरकारको करको रकम असुली मात्रै भन्दा पनि सबै नागरिकलाई करको दायरामा ल्याउन प्रयत्न रहेकाले कार्यालयले रकमभन्दा पनि सानाठूला व्यवसायी तथा सरकारी कर्मचारीहरू करको दायरामा आउन आवश्यक रहेको बताए ।

बारा र रौतहटका प्रतिष्ठानको कर नियमन गर्ने यस कार्यालयमा सबैभन्दा बढी सिमरामा रहेको सूर्य नेपाल प्रालिले वार्षिक ५ अर्बभन्दा बढी कर तिर्ने गरेको छ भने जिल्लाका ३५ बढी प्रतिष्ठानले वार्षिक करोडभन्दा बढी कर तिर्ने गरेको कार्यालय प्रमुख पाठकले बताए । यस कार्यालयमा फागुन मसान्तसम्मको तथ्यांकअनुसार ४६ हजार करदाता दर्ता छन् । जसमध्ये १५ हजार बढी निजी प्यानमा दर्ता छन् भने ३० हजार बढी व्यावसायिक प्यानमा दर्ता छन् ।