नवलपुर क्षेत्रका किसानलाई चैते धान लगाउने चटारो

नवलपुरको १७ सय हेक्टर जमिनमा चैते धान हुने

राजधानी संवाददाता

नवलपरासी, ६ चैत

 १५ असारमा किसानहरूलाई बर्खे धान लगाउन जति हतार हुन्छ, सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले चैते धान लगाउन त्यस्तै हतार रहेको छ ।

chaite-dhan-2

नवलपरासीको नवलपुर क्षेत्रका रतौल, चिलाहा, कोल्हुवा, रजहर, पिठौली, नारायणी, त्रिभुवनटार, हेगौलीका साथै पहाडको बुलिंटार, डेढगाउँलगायतका क्षेत्रमा चैते धान खेती हुने गर्दछ ।

चैते धान हुने नवलपरासीका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धान राम्रो हुने गरेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । उनले सिँचाइ हुने क्षेत्रमा चैते धान राम्रो हुने बताए ।

नवलपरासीमा १७ सय हेक्टर क्षेत्रफलमा चैते धान अर्थात् हिउँदे धानको खेती हुने गर्दछ । बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर ४ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ । जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले नवलपरासीमा साढे ७ हजार टनसम्म चैते धान उत्पादन हुने गरेको बताए ।

खाद्यान्न अभावको परिपूर्तिका लागि राम्रो उपाय भएकाले नवलपरासीमा चैते धानको क्रमशः विस्तार हुँदै गरेको गैरेले बताए ।गैरेका अनुसार चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले पनि किसानहरूका लागि चैते धान खेती राम्रो मानिन्छ । चैते धान उत्पादन हुँदा वर्षाको समय हुने भएकाले चैते धान स्याहार्ने बेलामा किसानले अलिकति सजकता अपनाउन आवश्यक छ ।