योगीले दिए मन्त्रीलाई निर्देशन

एजेन्सी

लखनउ, ६ चैत

यूपीको मुख्यमन्त्रीका रूपमा योगी आदित्यनाथले आइतबार शपथ लिएका छन् । मुख्यमन्त्रीका रूपमा कार्यालय प्रवेश गरेका योगीले मन्त्रिमण्डलसमेत गठन गरेका छन् । उनीसँगै २२ मन्त्री र २४ राज्यमन्त्रीले समेत शपथ लिएका छन् । उनको मन्त्रिमण्डलमा सूर्यप्रताप शाही सुरेश खन्ना, बहुजन समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेका स्वामीप्रसाद मौर्यसमेतले स्थान पाएका छन् । उनको मन्त्रिमण्डलमा उपमुख्यमन्त्रीका रूपमा केशवप्रसाद मौर्य र दिनेश शर्माले समेत शपथ ग्रहण गरेका छन् ।

पद समालेसँगै बसेको पहिलो क्याबिनेट बैठकमा उनले सबै मन्त्री र राज्यमन्त्रीलाई आफ्नो सम्पत्ति विवरण माग गरेका छन् । उनले १५ दिनभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै, उनले आफ्ना मन्त्रीहरूलाई बयानबाजी गर्नसमेत रोक लगाएका छन् । उनले राज्यमा युवाहरूलाई रोजगार दिनेसमेत घोषणा गरेका छन् । भाजपा सरकारको लोककल्याण संकल्पपत्रमा उल्लेख भएका सबै प्रतिबद्धताहरू पूरा गरिने उनले घोषणा गरेका छन् । उनले राज्यमा विनाभेदभाव विकासलाई अगाडि बढाउने बताउँदै अघिल्ला सरकारले परिवारवाद र भ्रष्टाचारका कारण विकासको गति अगाडि बढ्न नसकेको आरोप लगाए ।