पेरुमा दुई दशकयताकै भीषण बाढीपहिरो,देशभरका ७५० नगर संकटग्रस्त घोषित, ७२ को मृत्यु

लिमा / एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र पेरुमा जारी भारी वर्षापछि आएको भीषण बाढीपहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको छ । दुई दशकयताको भीषण बाढीपहिरोका कारण पेरुको करिब आधा क्षेत्रफल प्रभावित भएको जनाइएको छ ।

यो खबर तयार पार्दासम्म बाढी पहिरोमा परी मारिनेको संख्या ७२ पुगेको छ । पेरुका प्रधानमन्त्री फेर्नान्डो जभालाले यस प्रकोपमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको पुष्टि गरेका छन् ।

flood

भीषण वर्षापछि त्यहाँको मौसमलाई ‘कोस्टल निनो’ नाम दिइएको छ । समुद्रको तापक्रम धेरै भएर कोस्टल निनो भएको राष्ट्रिय जलवायु अनुगमन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समुद्रमा अहिले २२ डिग्रीदेखि २७ डिग्रीसम्म तापक्रम रहेको छ ।

बाढीमा परेर झन्डै ७२ जनाको मृत्यु र अज्ञात संख्यामा नागरिक घरबारविहीन भएका अधिकारीले जानकारी दिएका छन् । सरकारले देशका १३ क्षेत्रका ७ सय ५० नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सन् १९९८ मा पनि पेरुमा आएको भीषण बाढीपहिरोमा परी ३ सय ७४ जनाको मृत्यु भएको थियो । अहिले पनि प्रकोपका कारण धेरै क्षति भएको र यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको राष्ट्रपति पेड्रो पाब्लो कुक्जिन्सकीले बताएका छन् ।

बाढी पहिरोका कारण झन्डै १५ करोड अमेरिकी डलरदेखि ६० करोड डलरसम्म क्षति भएको सरकारले अनुमान गरेको छ । लिमामा मार्च २० सम्मका लागि विद्यालय बन्द गरिएको छ भने २७ जिल्लामा पानी वितरणका लागि समिति गरिएको छ । यस प्राकृतिक प्रकोपको अवस्थामा पेरुलाई सहयोगको गर्न चिली, बोलिभिया, भेनेजुएला र कोलोम्बियाका राष्ट्रपतिहरूले प्रस्ताव गरेका छन् ।