उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

एजेन्सी

टोकियो, ६ चैत

उत्तर कोरियाले टोङ–चाङ री रकेट लन्च स्टेसनबाट उच्च क्षमताको रकेटको इन्जिन परीक्षण गरेको छ । उत्तर कोरियाका नेता किम जोङ उनले यो परीक्षण सफल भएको बताउँदै यसले उत्तर कोरियालाई स्तरीय स्याटेलाइट लन्च क्षमता हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

परीक्षणका विषयमा उनले यसलाई उत्तर कोरियाको रकेट उद्योगको ‘नयाँ जन्म’ को संज्ञा दिएका छन् । परीक्षणमा स्वयं उपस्थित उनले यसले संसारमा उत्तर कोरियाको उपलब्धिको जानकारी मिल्ने बताए ।

north-korea

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले नयाँ प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीव्र गतिमा उड्न सक्ने रकेट इन्जिनको सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले यस परीक्षणलाई अन्तरिक्ष अनुसन्धान कार्यक्रमतर्फ राष्ट्रको उल्लेखनीय क्रान्तिकारी उपलब्धिको संज्ञा दिएका छन् ।

उत्तर कोरियाको सोहाए प्रक्षेपण स्थलको भूमिमा सो इन्जिनको सफल परीक्षण गरिएको थियो । उत्तर कोरियाद्वारा निर्मित अत्यन्त नयाँ प्रकृतिको सो रकेट इन्जिनको क्षमता, आगोको ठूलो मुस्लो फाल्न सक्ने शक्ति (थ्रस्ट पावर), सञ्चालन प्रणालीद्वारा नियन्त्रण हुनेमा विश्वसनीयता र संरचनात्मक सुरक्षा इत्यादि मूलभूत प्रणाली मापन र पुष्टिका लागि भूमि–परीक्षण गरिएको जनाइएको छ ।

आफ्नै प्रविधि र मौलिक प्रयासमा उत्तर कोरियाले अन्तरिक्ष तथा ग्रहहरूको अनुसन्धान गरिरहेकोमा यस्तो परियोजनालाई थप बलियो र सफल बनाउने दिशामा यो परीक्षण ऐतिहासिक महŒवको ठूलो फड्को साबित भएको भन्दै नेता उनले उत्तर कोरियाली रकेट उद्योगको विकासमा हासिल भएको क्रान्तिकारी उपलब्धिलाई ‘मार्च १८ रिभोल्युसन’ भन्ने नामकरण गर्नु उपयुक्त हुने बताए ।

उत्तर कोरियाद्वारा सञ्चालित अन्तरिक्ष अनुसन्धान कार्यक्रमअन्तर्गत प्रक्षेपण गरिने रकेट, भू–उपग्रह इत्यादिमा यस्तै इन्जिन जडान गरिने पनि केसीएनएले जनाएको छ । लामा दूरीका क्षेप्यास्त्र परीक्षण गर्न संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अझै कायमै छ ।

उत्तर कोरियाले भने आफ्नो अन्तरिक्ष अनुसन्धान र भू–उपग्रह प्रक्षेपण परियोजना शान्तिपूर्ण प्रयोगका लागि भएको बताउँदै आएको छ । दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले उत्तर कोरियाले परमाणु कार्यक्रम जारी राखेमा सैनिक कारबाही गर्ने चेतावनी दिएका थिए ।

त्यसको भोलिपल्टै चीन भ्रमणमा गएका टिलरसनलाई चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाको परमाणु कार्यक्रममाथि नियन्त्रणका लागि ठन्डा दिमागले सोच्न चेतावनी दिएका थिए ।

उत्तर कोरियाले गत वर्ष मात्रै दुईवटा परमाणु र दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको थियो । विशेषज्ञ र सरकारी अधिकारीहरूले उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने परमाणु हतियार विकसित गर्ने दिशामा काम गरिरहेको जनाएका छन् । उत्तर कोरियाली नेता किम जोङ–उनले यसअघि नै अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको नजिक पुगेको बताएका थिए ।