भूकम्पपीडितका नाममा दिइएको अनुदान फिर्ता हुँदै

बनेपा / रासस– भूकम्पपीडितका नाममा अनुदानलगायत सुविधा उपभोग गरेका परिवारले काभ्रेपलाञ्चोकमा पहिलो किस्ताबापतको रकम फिर्ता दिन थालेका छन् ।

भूकम्पपीडितको नाममा मौखिक र लिखित उजुरी पर्न थालेपछि जिल्लाको पाँचखाल नगरपालिकाबाट पहिलोपटक एकजनाले पहिलो किस्ताबापतको ५० हजार फिर्ता गरेको पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ ।

रकम फिर्ता गर्नेमा पाँचखाल नगरपालिका–९ का परशुराम सेढार्इं रहेका छन् । उनले सो रकम पुनर्निर्माण प्राधिकरण कोषमा नै जम्मा गरेका छन् । पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख ध्रुव गैडाले भूकम्पपीडितको नाममा सुविधा लिएकामा कहाँ र कसरी रकम फर्काउने भन्ने विषयमा अन्योल रहेको र कतिपयले फिर्ता गर्न चाहेको बताए ।

जिल्लाभरबाट त्यस्ता उजुरी आए पनि सबैभन्दा बढी पाँचखाल क्षेत्रबाट करिब १ सयको हाराहारीमा उजुरी आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य–सचिवसमेत रहेका गैडाले जानकारी दिए । उनले नक्कली भूकम्पपीडितविरुद्ध बेनामी लिखित उजुरी दिनसमेत जनसाधारणलाई आग्रह गरेको जानकारी दिँदै पीडित नभएकाले पनि सुविधा उपभोग गरे कानुनअनुसार असुल गरिने उल्लेख गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत २६ माघमा एक सूचना प्रकाशन गरी भूकम्पपीडितका नाममा पीडित नभएकाले पनि सुविधा उपभोग गरेको भए फिर्ता गर्न अनुरोध गरेको हो ।