नगर विकास अध्यक्षमा रिजाल

10429224_287571154754513_5054593074380943522_n

काठमाडौं / रास– नगर विकास कोषको अध्यक्षमा ध्रुव रिजाल नियुक्त भएका छन् । सहरी विकासको क्षेत्रमा विगत १२ वर्षदेखि काम गर्दै आएका कुशल योजनाकार रिजाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

रिजालले आइतबार नियुक्तिपत्र बुझेका छन् । नवनियुक्त अध्यक्ष रिजालले नगर विकासका लागि सबैसँग समन्वय गरेर अघि बढ्ने बताए । ‘मेरो अध्ययन पनि प्राविधिक नै हो,’ अध्यक्ष रिजालले राजधानीसँग भने, ‘निर्माण र प्रविधिको संयोजन गर्दै नगरको विकासमा सकेको योगदान दिनेछु ।’

रिजालले यसअघि हेटौंडा सिमेन्टको उपमहाप्रबन्धक, गुठी संस्थान, ग्रामीण आवास, बुटवल टेक्निकल इन्स्टिच्युट, सांस्कृतिक संस्थान, बुटवल धागो कारखाना, गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको सञ्चालक समिति अध्यक्ष भएर काम गरिसकेका छन् । उनी सहरी विकासमा विशेष दख्खल राख्ने योजनाकार मानिन्छन् । नियुक्तिपत्र बुझेपछि रिजालले कोषका सबै कर्मचारीको सहयोग लिएर नगर विकासमा सबैले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘सबै कर्मचारीको सहयोग लिएर नगरबासीले अनुभूति गर्ने गरी काम अघि बढाउने छु,’ नवनियुक्त अध्यक्ष रिजालले भने ।