चन्द्रागिरि केबलकारमा एक घण्टा लन्च ब्रेक

5

काठमाडौं / रास– चन्द्रागिरि हिल्स लिमिटेडले दिउँसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार दिउँसो साढे १२ देखि साढे १ सम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीको खाना खाने समय एवं केबलकारको इन्जिनलाई समेत केही समय आराम दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको कम्पनीको भनाइ छ । यो व्यवस्था सार्वजनिक बिदाका दिन तथा शनिबार लागू हुनेछैैन । केबलकारबाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका रेस्टुरेन्ट, बार, बालउद्यान नियमति सञ्चालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले बिहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रूपमा सञ्चालन गर्दै आएको थियो ।