‘सहकारी विधेयक’ चाँडो ल्याउन माग

काठमाडौं / रासस– सहकारी पीडित संघर्ष समितिले व्यवस्थापिका–संसद्, अर्थ उपसमितिमा छलफलका क्रममा रहेको ‘सहकारी विधेयक’ चाँडो ल्याउन माग गर्दै आज माइतीघरमा धर्ना दिएको छ ।

विभिन्न सहकारीबाट ठगिएका पीडितले आप्mनो रकम फिर्ता गराउन माग गरेका हुन् । सो विधेयकमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन केही व्यवस्था गरिएको बताइएको छ ।

कार्यक्रममा वृद्धवृद्धा तथा युवाले सहकारीको माध्यमबाट देश तथा जनतालाई ठगी गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिलाउनुपर्ने, सरकारले पीडितलाई सम्बोधन गर्न पूर्वन्यायाधीश गैरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले बुझाएको प्रतिवेदनका आधारमा कानुन निर्माण गर्नुपर्नेलगायत माग गरेको प्लेकार्ड र तुल बोकेका थिए ।

सो कार्यक्रमका संयोजक मधुसूदन प्याकुरेलले देशभर १ सय ३० सहकारीले करिब २५ हजार निक्षेपकर्ताको करिब १५ अर्ब ठगी गरेको बताउँदै सरकारले सम्बन्धित सहकारीको सम्पत्तिलाई लिलाम गराएर रकम असुल गरी पीडितलाई उपलब्ध गराउन माग गरे ।

पीडित प्रेम स्थापितले पाँच वर्षअगाडि आफूले जोरपाटीको जग्गा बेचेर ओरेन्टियल कोअपरेटिभमा ८० लाख निक्षेप गरेको बताउँदै पछि सो संस्था भागेकाले आफू अलपत्र परेको बताए ।

अर्का पीडित सिर्जना रूपाखेतीले सो विधेयक ल्याउन संवैधानिक निकायका प्रमुखलगायत सबैलाई ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको जानकारी गराए । धर्नाका समयमा सार्वजनिक यातायात आवतजावतमा केही अवरोध पुगेको थियो ।