जग्गाप्राप्तिको विषयमा प्रमसँग छलफल गरिने

काठमाडौँ / रासस– व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले जलविद्युत् आयोजनाको हकमा जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा अन्तर सरकारी निकायबीच नै समन्वय हुन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ ।

समितिको आइतबार बसेको बैठकले सरकारी निकाय र विशेष गरी मन्त्रालयबीच नै समन्वय हुन नसक्नु र आयोजनाको काम प्रभावकारीरुपमा बढ्न नसक्नुको पछाडि सामान्यभन्दा सामान्य समस्याले काम गरेको भन्दै सो विषयमा प्रधानमन्त्री र सरोकार भएका निकायबीच छलफल गर्ने निर्णय गरेको हो । सरकारले ऊर्जा सङ्कट समाधानका लागि भन्दै ऊर्जा सङ्कटकाल कार्ययोजना र रणनीति अगाडि सारेको र त्यसमा अन्तरसरकारी निकायबीच समन्वयका लागि मुख्य सचिवको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको भए पनि काम हुन नसकेकामा समितिले आपत्ति प्रकट गरेको छ ।