तरकारीको उत्पादनमा वृद्धि हुने सरकारको दाबी

राजधानी समाचारदाता

काठमाडौं, ६ चैत

सरकारले यस वर्ष हिउँदे तरकारीको उत्पादनमा वृद्धि हुने दाबी गरेको छ । यस वर्ष सरकारले तरकारी खेतीलाई विशेष प्राथमिकतामा राखेकाले उत्पादनमा वृद्धि हुने कृषि विकास मन्त्रालयले दाबी गरेको हो ।

यस वर्ष मुलुकको अधिकांश क्षेत्रमा माटो परीक्षण गरेर कुन माटोमा कुन तरकारी उपयुक्त हुन्छ, त्यसैका आधारमा कृषकहरूलाई बीउ, मल र प्राविधिकहरू उपलब्ध गराइएकाले तरकारीको उत्पादन बढ्ने कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

यसैगरी, यस वर्ष मनसुन पनि अनुकूल रहेको र मल तथा बीउ पनि त्यसैअनुसार उपलब्ध गराएकाले तरकारीको उत्पादनमा वृद्धि हुने उनले बताए । उनले तरकारीमा रोग तथा कीराहरूको संक्रमण हुन नदिन प्राविधिकहरूलाई पनि तदारुकतासाथ किसानहरूको सम्पर्कमा रहन पनि निर्देशन गरिएको बताए ।

उनले यस वर्ष सुपर जोन, जोनलगायतका विभिन्न कार्यक्रमअन्तर्गत कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको भन्दै कास्की जिल्लालाई काउलीलगायतका तरकारीको र काभ्रे जिल्लालाई आलुको सुपर जोन योजनामार्फत अघि बढाइएको बताए ।

‘यसपटक बीउ, मल र प्राविधिकका लागि विशेष संयमता अपनाऔं । मनसुन पनि अनुकूल नै थियो आजसम्म पनि पानी परिराख्या छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका थियौं । त्यसकारण यस वर्ष हिउँदे तरकारीको उत्पादन विगतका वर्षभन्दा अवश्य पनि बढ्छ,’ उनले भने ।

अहिले नै अनुमानको भरमा ठ्याक्कै यति उति प्रतिशतले बढ्छ भन्न नमिल्ने भन्दै सापकोटाले असिनालगायतका प्राकृतिक प्रकोपबाट नोक्सान हुन नपुगे तरकारीको उत्पादनमा वृद्धि हुने दाबी गरे ।

उता मुलुककै ठूलो तरकारी तथा फलफुल बजार कालिमाटीकाअनुसार पछिल्लो समय भारतबाट आयात हुने तरकारीको परिमाण घट्दै गइरहेको छ । कालिमाटी फलपूmल तथा तरकारी बजार व्यवस्थापन समितिले गत पुस र माघ महिनाभन्दा फागुन महिनामा तरकारीको आयातमा करिब २० प्रतिशतले कमी आएको जनाएको छ ।

त्यसैगरी, आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयको बजेट पनि करिब ११ प्रतिशतले बढ्ने भएको छ । चालू आर्थिक वर्षमा २७ अर्ब ४३ करोड बजेट विनियोजित रहेकामा आगामी आर्थिक वर्षमा ३० अर्ब ५८ करोडको सिलिङ राष्ट्रिय योजना आयोगले दिएको सहप्रवक्ता शंकर सापकोटाले बताए । ३० अर्ब ५८ करोडको सिलिङभित्रै रहेर अहिलेसम्म सञ्चालित योजनाहरू र आगामी आवका लागि केही नयाँ नीति तथा कार्यक्रम बनाउन सुरु गरेको सापकोटाको भनाइ छ ।