उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी, गोल्छा समूहद्वारा उम्मेदवारी घोषणा

विनोद परियार / राजधानी

रूपन्देही, ६ चैत

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षसहितको अन्य पदाधिकारीका लागि अहिले चुनावी सरगर्मी सुरु भएको छ । आगामी २८ र २९ चैतमा हुने महासंघको ५१औं वार्षिक साधारण सभामा निर्वाचनका लागि महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उद्यमी शेखर गोल्छा नेतृत्वको समूहले आइतबार रूपन्देहीको बुटवलबाट उम्मेदवारी घोषणा गरेको छ ।

img_7824

बुटवल उद्योग वाणिज्य संघको आतिथ्यमा मुलुकभरका उद्योगी व्यवसायीहरूको माझमा आइतबार महासंघका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षमा गोल्छा नेतृत्वको समूहका उम्मेदवारको नाम घोषणा गरेका हुन् ।

आगामी निर्वाचनका लागि गोल्छा समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, महासंघको कोषाध्यक्ष पदका लागि ज्ञानेन्द्रलाल प्रधान र महासंघको कार्यकारी सदस्यका लागि बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा सभामा बोल्दै महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रको अस्तित्वलाई स्थापित गराउन शेखर गोल्छाको समूह योग्य रहेको बताए । उनले नेपालको निजी क्षेत्रले युद्धदेखि नाकाबन्दी, भूकम्प र राजनीतिक अस्थिरताजस्ता समस्यासँग जुधेको भन्दै अब यसको सामना गर्न गोल्छाको नेतृत्व सफल हुने बताए । उनले देशभरका सम्पूर्ण व्यवसायीको भावनालाई बुझेर बुटवलबाट उम्मेदवारी घोषणा गरिएको बताए ।

सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफ्नो परिवार नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाकालदेखि नै संलग्न रहेको भन्दै अब आफ्नो परिवारको ५५ वर्षको सपना पूरा हुन लागेको बताए । उनले सरकारले ल्याउने निजी क्षेत्रसँग सम्बन्धित विभिन्न ऐनमा निजी क्षेत्रको धारणा राख्ने र अन्तर्राष्ट्रिय समन्वयलाई फराकिलो बनाउने बताए । गोल्छाले भने, ‘मेरो उम्मेदवारी व्यवसायीको हितसँगै नीतिगत सुधारका लागि हो ।’ उनले आफ्नो कार्यकालमा विदेशी लगानी भिœयाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । गोल्छा हाल महासंघको एसोसिएटतर्फका

उपाध्यक्ष हुन् । यसैगरी, जिल्ला नगर उद्योग वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठले ६ महिनाभित्रमा व्यवसायीहरूको भावनाअनुसार काम नगरे २५ जनाले निवेदन दिएमा राजीनामा दिने उद्घोष गरे । वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले उद्योग वाणिज्य महासंघको गरिमालाई स्थापित गराउने बताए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, वरिष्ठलगायतले बोल्दै गोल्छा समूह नै व्यवसायीहरूको एक मात्र विकल्प भएको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बुटवलबाट उम्मेदवारी घोषणा भएकाले विजयी भइसकेको बताए । उम्मेदवारी घोषणाका लागि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । महासंघको केही महिनाअगाडि भएको विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले यसपटक वरिष्ठ उपाध्यक्षका लागि चर्को प्रतिस्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार किशोर प्रधानले गत २२ फागुनमा विराटनगरबाट आफ्नो समूहका तर्फबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रधानको समूहबाट उपाध्यक्षका उम्मेदवारहरूमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट प्रमोद श्रेष्ठ, वस्तुगततर्फ शंकर पाण्डे र एसोसिएटतर्फबाट सौरभ ज्योतिको नाम बाहिर आइसकेको छ ।