चुनावी तयारीमा जुट्न एमाले निर्देशन

सुभाष साह / राजधानी

काठमाडौं, ७ चैत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । सरकारले आगामी ३१ वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरिसकेकाले त्यसको तयारीमा जुट्न एमालेले पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले स्पष्ट निर्वाचनमा बहुमतसहित पहिलो दल बन्ने गरी आवश्यक सबै तयारीमा जुट्न नेता–कार्यकर्तासहित गाउँ कमिटीसम्मलाई निर्देशन दिएको हो । बैठकमा बोल्दै राख्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । सोमबार बिहान नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका अध्यक्ष ओलीले निर्वाचनको मिति तलमाथि नगरी तोकिएको समयमै चुनाव सम्पन्न गराउने भूमिका खेल्न आफूले सुझाव दिएको बैठकमा जानकारी गराएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताए । ‘संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक छ, तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ, संविधान संशोधनको खेलमा नलागांै,’ नेता पोखरेलका अनुसार प्रधानमन्त्रीलाई दिएको सुझाव उद्धृत गर्दै बैठकमा अध्यक्ष ओलीले भने, ‘निर्वाचनको तयारीका लागि एमालेबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्न हामी तयार छौं ।’

संविधान संशोधनको नाममा निर्वाचन नै हुन नदिने गरी सरकारको गतिविधि रोकिनुपर्ने सुझाव पनि ओलीले दिएका छन् । प्रधानमन्त्री दाहालले सीमांकनबाहेकका मुद्दामा संविधान संशोधन गरौं भन्ने प्रश्नको जवाफमा ओलीले अहिले संविधान संशोधनको नभई निर्वाचनको आवश्यकता रहेको बताएका हुन् । बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा विशेष छलफल भएको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । ‘निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरूप्रति सजग रह“दै बैठकले ३१ वैशाखका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ,’ बैठकपछि भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आचारसंहिताविपरीत भएको बजेट वितरण र कर्मचारी सरुवा–बढुवा रोक्न दबाब

बैठकले निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरूलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । यस्तै, निर्वाचनका सम्पूर्ण कार्यहरूलाई तीव्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहितासमेत लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेट रकमान्तर गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारी सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्य भएको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचन आचारसंहिताविपरीत सरकारले गरिरहेको यस्ता कार्यहरू तत्काल रोक्न माग गरेको छ ।

‘स्थानीय तह निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहितासमेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटहरूको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरूको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति बैठकको गम्भीर ध्यानाकर्र्षण भएको छ । हाम्रो पार्टी निर्वाचन आचारसंहिताविपरीत यस्ता कार्यहरू तत्काल रोक्न सरकारस“ग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाइका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ,’ एमालेले भनेको छ ।

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यसअघि राख्दै आएको अडान कायम नै रहेको जनाएको छ । संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक दललाई एमालेले आह्वान गरेको छ । पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा नौ राजनीतिक दलबीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय बैठकले गरेको छ ।