पूर्वी भेगमा भारी असिना आजबाट मौसम खुल्ने

राजधानी संवाददाता

राजविराज, ७ चैत

पश्चिमी वायु र स्थानीय वायुको प्रभावमा भएको मौसमी गतिविधिका कारण सोमबार पूर्वी नेपालमा भारी असिना परेको छ । एक घण्टाको अवधिमा परेको असिनाका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बनेको थियो ।

bhedetar

राजविराजस्थित राजधानीकर्मी एमके माझीका अनुसार एक घण्टाको अवधिमा परेका असिनासहितको वर्षाका कारण कृषिबालीमा ठूलो क्षति पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार तीन दिनअघि नेपालमा प्रवेश गरेको पश्चिमी वायु सोमबार साँझबाट पूर्वी नेपालबाट बाहिरिएको छ ।

उनका अनुसार मंगलबार बिहानैबाट मौसममा सुधार आउनेछ । राजविराजमा भारी वर्षासँगै सप्तरीमा एक घण्टासम्म असिना परेको थियो । लगातार परेको असिनाले जिल्लाको उत्तरी क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका र आसपासका गाविसमा परेको असिना दुई फिटसम्म जमेको थियो । असिनाले महेन्द्र राजमार्गसमेत केहीबेर अवरुद्ध भएको थियो । स्थानीय जितबहादुर श्रेष्ठका अनुसार २०४३ सालमा सोमबारको जस्तै असिना वर्षा भएको थियो भने त्यसपछिको सोमबारको असिना वर्षा नै हो । खसेको असिनाका कारण कृषकहरूले लगाएको गहुँ, आँप, दलहन, लिचीसहितका बाली पूर्ण रूपमा नष्ट भएको छ । गहुँ पाक्ने समयमा एक घण्टासम्म खसेको असिनाले कृषि क्षेत्रमा ठूलो असर पुगेको स्थानीय कृषक लक्ष्मण यादवले बताए ।

यस्तै, सुनसरीस्थित राजधानीकर्मी सन्तोष यादवका अनुसार डेढ दशकपछि सोमबार भेडेटारमा भारी मात्रामा असिना परेको छ । दिउँसो १ बजेदेखि पर्न थालेको असिना पानीले भेडेटार आसपासका डाँडा सेताम्मे भएका छन् भने सडक नै अवरुद्ध भएको छ । भेडेटार आसपासका डाँडा असिनाले सेतै देखिन थालेको छ । सडकमा असिना थुप्रिएका कारण सडक अवरुद्ध भएको छ ।

सोमबार धरान–धनकुटा चल्ने सार्वजनिक तथा निजी सवारीसाथनहरू चल्न नसकेको भेडाटारस्थित प्रहरी चौकीले जनाएको छ । भेटेडारमा यसरी असिना परेको पहिलोपटक भएको जानकारहरू बताउँछन् । अहिले भेडेटारमा असिना खेल्नेहरूको भीड बढ्न थालेको छ । असिना पानी परेपछि भेडाटारमा अत्यधिक जाडो बढेको छ भने धरानमा चिसो बढेको छ । होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीका अनुसार भेडेटारमा डेड फिटसम्म असिना जमेको थियो ।