गौरीशंकरलाई उत्कृष्ट गाउँपालिका बनाउने अठोट

राजधानी समाचारदाता

काठमाडौं, ७ चैत

गौरीशंकर गाउँपालिकाका अगुवाहरूले मुलुककै सबैभन्दा उत्कृष्ट, समृद्ध र नमुनायोग्य गाउँपालिका बनाउने संकल्प गरेका छन् । स्रोत साधनले निकै धनी गौरीशंकर गाउँपालिकालाई ७ सय ४४ स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट बनाउने अठोट त्यस क्षेत्रका बासिन्दाले गरेका हुन् ।

17361858_10212058162312248_4348937814999766065_n

समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गर्दै गौरीशंकर गाउँपालिकालाई समृद्ध र सुखी गाउँपालिकाका रूपमा विकसित गर्नेछ,’ सोमबार काठमाडौंमा आयोजित एमाले गौरीशंकर गाउँपालिका सम्पर्क मञ्च गठन तथा प्रशिक्षण कार्यक्रममा दोलखा–१ का सांसद तथा एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले भने । उनले आगामी निर्वाचनमा सूर्यमा मतदान गरी समृद्ध गाउँपालिकाको अभियानमा योगदान गर्न र सबै मतदातालाई यस विषयमा जानकारी गराउन अपिलसमेत गरे ।

गौरीशंकर गाउँपालिका–५ सुरीका स्थायी बासिन्दा गुरुङको सो उद्घोषलाई सबैले स्वागत गर्दै एकमतले समृद्ध गाउँपालिकाका रूपमा विकसित गर्ने अठोट गरेका हुन् । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको सो गाउँपालिकामा नाकाबन्दीको असर नहुने गरी विकासका काम अघि बढाउने संकल्पसमेत स्थानीयवासीले गरेका थिए ।

दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे, सुरी, चंखु, माबू, झ्याँक र जुँगु गाविसलाई समेटेर निर्माण गरिएको गौरीशंकर गाउँपालिका जलविद्युत्देखि जडिबुटीसम्ममा प्रख्यात छ । सोही आधारमा सांसद गुरुङले समृद्ध गाउँपालिका निर्माणको खाका कोरेका थिए । उनलाई गाउँपालिकाका नौवटै वडाका स्थानीयले साथ दिँदै समृद्धिको खाका कोर्ने बताएका हुन् । उनले निर्वाचन सम्पन्न गर्ने सर्तमा एमालेले माओवादी नेतृत्वको सरकारलाई नै बजेट पेस गर्न दिने सहमति जनाएको जानकारीसमेत दिए । सांसद गुरुङले गौरीशंकरमा जल माफिया प्रवेश गर्न खोजेको भन्दै त्यो काम कुनै हातलमा हुन नदिने उद्घोषसमेत गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले प्रदेश–३ का सदस्य सरस्वती बस्नेत, प्रदेश– सम्पर्क समन्वय समितिका संयोजक श्याम बस्नेत, दोलखाली पत्रकार समाजका अध्यक्ष सन्तोष खडका, एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटी, छत्र कार्कीलगायतका अगुवाहरूले सबै जनताको सहभागितामा नमुनायोग्य गाउँपालिका बनाउने भन्दै नेतृत्व लिन सांसद गुरुङलाई सुझाए ।

‘समृद्ध गाउँपालिका कस्तो हुन्छ, त्यो हेर्न गौरीशंकर गाउँपालिकामा आउनोस् भनेर हामी ७ सय ४३ वटै स्थानीय तहका पदाधिकारीलाई खुला आमन्त्रण गर्ने अवस्थामा पु¥याउने खाका हामीसँग छ, त्यसको नेतृत्व सांसद गुरुङले गर्नुभएको छ, हामी यो काम गरेरै देखाउँछौं,’ कार्यक्रममा उनीहरूको भनाइ थियो ।

उनीहरूले समृद्धिको खाका कोर्न गाउँपालिकामा एमालेको नेतृत्व अनिवार्य रहेको भन्दै हरेक घरमा पुगेर मतदातालाई एमालेको पक्षमा मतदान गराउने अभियानमा लाग्न सबै अगुवाहरूलाई आग्रहसमेत गरे । सोही कार्यक्रमबाट अमृत खडकाको अध्यक्षतामा ३५ सदस्यीय गौरीशंकर गाउँपालिका सम्पर्क मञ्चसमेत गठन गरिएको छ।