कल साँझमा गायक निरौलाले दर्शकको मन जिते

काठमाडौं / रास– इलामका अग्रज गायक कोमल निरौला आफ्ना एकल गीत लिएर काठमाडौंमा एक समारोहमा प्रस्तुत भए । निरौलाले आफ्ना गीतबाट दर्शकको मन जिते । उनको एकल साँझको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ सरुभक्तले गरे ।

ekal

कार्यक्रममा गायक निरौलाले डेढ घण्टाको बसाइमा डेढ दर्जन गीत सुनाए । सरस्वती बन्दनाबाट सुरु भएको सो एकल साँझमा उनले अखण्ड शक्ति हौ युवा…, अञ्जलीका गुराँस थुँगा…, जीवनदेखि धेरै धेरै नै थाकेर…, नआऊ जून कोठमा राती…, हे फूल चुँडेर लाने हो…, म हिमाल उठाइदिन्छु…, प्रिय तिम्रो मुहारमा…, पर लैजाऊ फूलहरू…, मर्न बरु गारो हुन्न…, मेरो पनि एउटै मुटु…, पहाडको उकालीलाई मैले माया गरेजस्तो… जस्ता चर्चित गीतहरू सुनाए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रहेका निरौलालाई कार्यक्रममा सोही प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, सदस्य सचिव गणेश रसिक, गायक दीप श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उक्त कार्यक्रममा सबै गीत सुनेर निरौलाको गायनको खुलेर प्रशंसासमेत गरे । कार्यक्रममा कुलपति सरुभक्त र पूर्वसभामुख नेम्वाङले कोमल निरौलाकी छोरी गायिका झुमा निरौलाको पहिलो गीतिसंग्रह ‘सरगमश्री’ को लोकार्पण गरे ।